हत्यारालाई कारबाही गर्नुपर्ने आफन्तको अडान



काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझ्न मानेका छैनन् । हत्यारालाई कारबाहीको माग गर्दै आफन्तले शव बुझ्न नमानेका हुन् ।
गएको बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा मृत अवस्थामा शव फेला परेको थियो ।
भागरथीको शव विभत्स अवस्थामा फेला परेकोले बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरी अधिकारी बताउँछन् ।
प्रहरी अनुसन्धानमा सक्रिय भएर लागेको र आफन्तले शव बुझ्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए । भागरथीको कपडा च्यातिएको, शरीरमा निलडाम, घाउ, घाँटी निमोठेको पाइएको छ । घटनाको अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय बैतडीको टोली परिचालन गरिएको छ ।
मृतक भागरथीका बुवाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतमा छन् ।
यसैबीच भट्टको बलात्कारपछि हत्या भएको र त्यसमा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
घटनास्थलको प्रकृति र शवको प्रकृतिका आधारमा प्रहरीले उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरबाटै बैतडी गएको हो । सो टोलीले कञ्चनपुरमा रहेर निर्मला पन्त हत्याकान्डको अनुसन्धान गर्दै आएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरुले हत्या परिचित व्यक्तिबाटै भएको आशंका गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले अनुसन्धान जारी रहेको र केही ‘क्लु’समेत फेला परेको बताए ।
अनुसन्धानमा खटिएका अधिकारीहरुले मोबाइलसहित अनुसन्धानका ‘क्लु’ फेला परेकाले अभियुक्त चिनजानकै व्यक्ति हुनसक्ने बताएका छन् । प्रहरीले शंकास्पदहरुसँग सोधपुछ गरिरहेको छ । यसअघि ६ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरुलाई छाडिएको थियो ।
प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको छ । उनीसँगै विद्यालयबाट निस्कँदा चारजना साथी रहेको र घरमा आमा एक्लै छन् भन्दै उनी साथीहरुबाट छुट्टिएर हिँडेको बताइएको छ । एक्लै हिँडेकी उनी घर पुग्न भने पाइनन् ।

प्रतिक्रिया दिनुहोस्