सय वर्ष पुरानो भूमि समस्या अब सुल्झियोस् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भूमिसम्बन्धी सबै समस्या समाधान गर्न भूमि आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएका छने ,।
प्रधामन्त्री ओलीले नेपालमा भूमिसम्बन्धी समस्या १०० वर्ष भन्दा पनि पुरानो भएको र यो विषय अब समाधान हुनुपर्ने निर्देशन दिए ।
शताब्दी पुरानो समस्या सुल्झाउने जिम्मेवारी आयोगका पदाधिकारीहरुको काँधमा आइपरेको भन्दै उनले यो समस्या समाधान नभई सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा सार्थक बनाउन सम्भव नहुने बताए ।
सरकारले केही दिनअघि मात्र नियुक्त गरेका ७७ वटै जिल्लाका आयोगका अध्यक्ष, विज्ञ सदस्य र सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरिबी र खाद्य समस्या समाधान गर्न पनि भूमिको समस्या सुल्टिनैपर्ने सुझाव दिए ।
त्यसअघि भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरूलाई अभिमुखीकरण गरिएको थियो । सो क्रममा उनीहरूको काम, कर्तव्य र अधिकार, कानुनी कुराहरू तथा गर्नुपर्ने समन्वयका क्षेत्रबारे आयोगका विज्ञ सदस्य जगत देउजा र आयोगका उपसचिव अञ्जन न्यौपानेले प्रशिक्षण दिएका थिए ।
आयोगले स्थानीय तहमार्फत भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासी र उनीहरुसँग सम्बन्धित आवश्यक विवरणहरु संकलन गरिरहेको छ। यो प्रणाली लागु भएपछि यसरी प्राप्त तथ्यांक विश्लेषण गर्न मद्दत पुग्नुका साथै अव्यवस्थित बसोबासीहरूको जग्गा वर्गीकरणमा समेत सघाउ पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्