‘मेरो सरकार’बारे कांग्रेसले भन्यो : राष्ट्रपतिलाई बेलायती महारानीजस्तो बनाइयो



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले मेरो सरकार भनेकोमा गम्भीर आपत्ति जनाएको छ । आइतबारको प्रतिनिधिसभा वैठकमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘हावादारी गफ’को संज्ञा दिएका छन् । 

सरकारले राजमार्गमै जहाज अवतरण गर्नेजस्ता उडन्ते कुरा गरेकाले नीति तथा कार्यक्रम खासै महत्वपूर्ण नभएको देउवाको भनाइ छ ।

नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीले दर्ता गरेको संशोधन प्रस्तावमा सांसदहरुको मत माग्दै नीति तथा कार्यक्रममा कुनै पनि विषय स्पष्ट नभएको बताए । देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरित भएको पनि बताए ।

‘राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्ने काम भएको छ,’ देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर विवादमा पारिएको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’

सांसद मिनेन्द्र रिजालले हिजो राजाले मेरो सरकार भनेर सम्बोधन गर्ने र अन्त्यमा पशुपतिनाथले कल्याण गुरुन् जयनेपाल भनेर टुंग्याउने गरेको स्मरण गर्दै त्यही प्रवृत्तिमा सरकार हिँड्न खोजेको आरोप लगाए । 

नीति तथा कार्यक्रममा के भनिन्छ हेर्न अरु देशमा जानु नपर्ने भन्दै उनले २०६४÷६५ को चुनावपछि बनेको सरकारले मेरो सरकार भन्न छाडेको हेर्न आग्रह गरे ।

यो सरकारले गणतन्त्रलाई जोगाउँछ कि जोगाउँदैन भन्ने आशंका जनताको मनमा रहेको भन्दै नेता रिजालले काममार्फत आश्वस्त पार्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्