माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस



काठमाडौं : बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ।
आइतबार बसेको सीसीएमसीको बैठकले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा आगामी माघ १५ गतेसम्म हिउँदे बिदा दिन सिफारिस गर्ने निर्णय गरेको हो।

हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सीसीएमसीको निर्णय छ।

यस्तै, जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान सञ्चाचन गर्न सहजीकरण गर्ने भनिएको छ।

‘यस कार्यमा प्रदेश सरकारहरु सहयोग र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झैं आवश्यक सहयोग तथा सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् अनुरोध गर्ने’, सीसीएमसीको निर्णयमा भनिएको छ।

बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ।

सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्