प्रहरी र स्थानीयबीच झडप, केही घाइते



उदयपुर : उदयपुरको कटारी नगरपालिका वडा नं. ४ स्थानीय र प्रहरीबीच झडप भएको छ ।  कसमस सिमेन्ट उद्योगको चुनढुंगाको विषयलाई लिएर विवाद हुँदा कटारीको मरुवा खोलामा प्रहरीले महिलामाथि हातपात र लाठ्ठी चार्ज गरेको  स्थानीयको आरोप छ ।  

 

डीएसपी ध्रुवकुमार श्रेष्ठको कमाण्डमा रहेको टोलीले स्थानीय महिलामाथि हातपात गरी लाठी चार्ज गरेको स्थानीयले बताएका छन् । उनीहरुकाे अाराेप छ, ‘गएको तीन चार दिनदेखि कसमस सिमेन्ट र स्थानीयबीच विवाद थियो, । ‘स्थानीयले रोकेर राखेको टिपर खुलाउन गएको प्रहरीले स्थानीयलाई मार्ने धम्की दिँदै लाठी चार्ज गरेको हो ।’

 

प्रहरीको लाठी चार्जले कटारी नगरपालिका ४ मरुवा खोलाकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले बताए । ‘प्रहरीले रक्सी खाएर शनिबार राति रोकेको टिपर खुलाउने बहानामा स्थानीय महिलामाथि कुटपिट गरी घाइते बनाएको उनले बताए ।

 

प्रहरीले शरीरका विभिन्न भागमा हिर्काउनुका साथै उनीहरुको कपडासमेत च्यातिदिएको र  गालीगलौज गरेको घाइते राधिका राउतले बताइन्। ‘हामीले आइतबार बिहान छलफल गरेर मात्र टिपर सञ्चार हुन दिने भनेका थियाैं तर प्रहरीले जिल्लाको आदेश भन्दै लाठी चार्ज गर्यो उनले भने । 

 

इलाका प्रहरी कार्यलयका डीएसपी ध्रुवकुमार श्रेष्ठले चुनढुंगाको टिप्पर संचालनमा रोक लगाउँदै एउटा भीड जम्मा भएको थियो त्यही भीड खुलाउने क्रममा लाठी चार्ज गर्नुपरेको र केही महिलाहरु घाइते भएको स्वीकारे । 

प्रतिक्रिया दिनुहोस्