मधेश प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि समिति गठन



जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना निर्माणका लागि अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ ।
मधेश भवनमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट आफ्नो प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेका हुन् ।
समितिका सदस्यमा सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह रहेका छन् ।
समितिले भवनसहितका स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजीदेखि प्राविधिक सहित बजेट स्रोत व्यवस्थापनसम्मको कार्य गर्ने प्रदेश सरकारका प्रवक्ता साहले बताए।
समितिले नै विभिन्न प्राविधिक र अर्थ विज्ञसहितका व्यक्तिहरूलाई राखेर विज्ञ समिति गठन गर्नेछ । समितिले बुझाएको प्रतिवेदनको आधारमा सरकारले कार्य अगाडि बढाउने प्रवक्ता साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्