बाँकेमा विद्यार्थीलाई मोडेर्ना खोप लगाउन सुरु



नेपालगञ्ज । बाँकेमा विद्यार्थीलाई मोडेर्ना खोप लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप लगाउन सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, एसपी श्यामकृष्ण अधिकारी, खोप अधिकृत नरेश श्रेष्ठको उपस्थितिमा नेपालगञ्जको धम्बोझी माविबाट खोपको सुरुवात गरिएको थियो ।
स्वास्थ्यकर्मीले स्कुल–स्कुलमा पुगेर बालबालिकालाई खोप लगाइरहेका छन्। बाँकेमा १२ देखि १७ वर्ष उमेरका ६९ हजार बालबालिका रहेका छन् ।
सरकारले खोप लगाउनका लागि स्कुल खोलेको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले जिल्लाका दुई सय ७० वटा स्कुलबाट खोप कार्यक्रम सुरु भएको बताए ।
‘सबैलाई पायक पर्ने गरी विद्यालय छनौट गरेर त्यहाँबाट खोप लगाइरहेका छौँ,’ स्वास्थ्य कार्यालय प्रमुख शाहले भने, ‘दुई दिनसम्म खोप लगाउने हो । भ्याइएन भने अरु दिन पनि लगाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्