ब्युँतियो मधेस अधिकार संगठन, अधिकार प्राप्तिका लागि पुनः संघर्ष गर्ने



जनकपुरधाम : तेस्रो मधेस आन्दोलनमा जनकपुरबाट मधेस तत्ताउने मधेस अधिकार सङ्घर्ष समिति मास सोमबार पुनः गठन गरिएको छ। अधिकार प्राप्तिको लडाइमा पछिलो समय सधै अग्र पंक्तिमा रहेको मासले पुनः आफ्नो स्वरूप फराकिलो बनाउँदै छ ।

सोमबार (२७ गते) सम्पन्न मासको बैठकले मधेस अधिकार संघर्ष समिति (MASS) तत्काल आठ सदस्यीय संयोजन समिति गठन गरेको छ । 

हाल बनाइएको संयोजन समितिमा मासका पूर्व संयोजक सरोज मिश्र, क्रान्तिकारी युवा सुशील कर्ण, पूर्व प्रवक्ता ईद मोहम्मद जानी , मनोज साह, प्रभाष राय जनक, दीपक ठाकुर, शंकर चौधरी, किशन मण्डल रहेका छन्।

शनिबारको बैठक एवं समिति विस्तार पश्चात् वार्ड र नगर कमिटी समेत गठन गर्ने जिम्मेवारी दिइने छ। मधेस अधिकारको निम्ति २०७२ सालमा गठन युवाहरुको संघठन मासले शान्तीपूर्ण आन्दोलन र जनचेतना फैलाउने कार्यसँगै, कालो झण्डा, ज्ञापन , सडक नाटक इत्यादि गरेर निकै चर्चित बनेको थियो।

मासले अब मुख्य रुपमा भ्रष्टाचार विरुद्ध एवं सूचनाको हक प्रयोग गरि हरेक निकायलाई पारदर्शी बनाउने काम सँगसँगै अधिकार र न्याय प्राप्तिको लागि विभिन्न  अभियान एवं संघर्ष गर्ने समितिका तत्कालीन प्रवक्ता जानी खानले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्