महिला विश्वकपको दुई खेलमा नर्वे र फ्रान्स विजयी, प्रिक्वार्टर फाइनलमा प्रवेश



एजेन्सी : फ्रान्समा जारी आठौं महिला विश्वकपमा मंगलबार राति दुई खेल सम्पन्न भएका छन्। समुह ‘ए’ को दुई खेलमा नर्वे र आयोजक फ्रान्स विजय भएका छन्।

दक्षिण कोरियालाई एकका विरुद्ध दुई गोल गर्दै नर्वे विजयी बन्यो भने नाइजेरियालाई मात्र एक गोल लगाएर फ्रान्सले विजय प्राप्त गरेको हो।

दक्षिण कोरिया र नर्वेको खेलमा सी हसनले पहिले गोल गरेकी थिइन्। छैटौं मिनेटमा पेनाल्टी पाएको नर्वेले सो अवसरको सदुपयोग गरेको थियो।

५१औं मिनेटमा पाएको दोस्रो पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै आई हेर्लाेभसेनले गोल गरेकी थिइन्। यओ मिन जीले ७८ औं मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काइन्। तर थप गोल हुन नसक्दा दक्षिण कोरिया पराजित भयो भने नर्वे समूह उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो।

उता अर्काे खेलमा फ्रान्सले नाइजेरियालाई १–० ले हरायो। विवादास्पद खेलमा फ्रान्सले दुई पटक पेनाल्टी हान्ने मौका पाएको थियो। भिभियान असेईलाई फल गरेका कारण फ्रान्सले पेनाल्टी पाएको थियो। सो पेनाल्टी पोस्टमा लाग्न पुग्यो। तर नाइजेरियाकी गोलकिपर चियामाका सिट्ठी बज्नुभन्दा नै अघि बढेपछि फ्रान्सले अर्को पटक पेनाल्टी हान्ने मौका पायो। जसलाई रेनार्डले गोलमा परिणत गरिन्।

पराजयको बाबजुत नाइजेरियाको नकआउट चरणमा पुग्ने आशा अझै कायमै छ। उत्कृष्ट उपविजेताका रुपमा नाइजेरिया प्रिक्वार्टर फाइनलमा पुग्न सक्नेछ। शतप्रतिसत जित निकाल्दै फ्रान्स समूह एको विजेता बनेको छ।

प्रतिक्रिया दिनुहोस्