स्वच्छ, मर्यादित र निष्पक्ष निर्वाचन



सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेपछि निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दललगायत सम्बन्धित निकाय आआफ्नो तयारीमा लाग्न थालिसकेका छन् । सबैको केन्द्रमा रहेको निर्वाचन आयोग नै सिंगो तयारीमा जुटेपछि यसले सम्बन्धित पक्षहरूलाई तयारीका लागि प्रेरित गरिरहेको छ । राजनीतिक दलहरू पनि निर्वाचनको माहोल निर्माण गर्न लागिपरिरहेका देखिन्छन् । निर्वाचन आयोग यसका लागि आफ्ना कार्यक्रमिक कार्यनीति तथा त्यसको फल प्राप्तिका लागि रणनीति पनि बनाउन लागिपरिरहेको छ । यसका लागि स्थानीय निर्वाचनमा आइपर्ने चुनौतीहरू केके छन् त भनी तिनको ‘लिस्टिङ’ गर्ने प्रक्रिया सुरु भएको छ ।
निर्वाचनमा सदाझैँ अहिले पनि सुरक्षा चुनौतीको विषयलाई लिएर सामान्य आँकलन गर्न थालिएको छ । यो आँकलनमा स्थानीय निर्वाचन पहिलेका वर्षहरूमा जस्तो निकै चुनौतीपूर्ण नहुने देखिएको छ । सुरक्षाको विषयलाई लिएर सुरक्षा निकायले पनि आफ्ना रणनीति र कार्यनिित तय गरिरहेको देखिएको छ । सबैको चासोको केन्द्र पनि सुरक्षाको विषय नै रहने गर्छ । अहिलेको निर्वाचन सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी, त्यसपछिको दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा बाहिरी घेरामा नेपाली सेना रहने गरी रणनीति तय गरिएको छ । समय छोटो छ तर निर्वाचन समयमै गरिनुपर्छ भन्ने कुरामा सबैको एक मत रहेको छ । त्यसैले पनि देशभर स्थानीय निर्वाचनको महोल बन्दैन भन्ने आशंका दूर भइसकेको छ । यसले सम्बन्धित निकायको रणनीति, व्यवस्थापन र तयारीका लागि बाटो खुला गरिदिएको छ ।
देशभरका मतदान केन्द्र र मतदान स्थल तथा सुरक्षा व्यवस्थाका विषयहरूलाई लिएर तथ्याङ्क सङ्कलन र विश्लेषण भइरहेको छ । अहिले स्थानीय निर्वाचनमा भित्री र बाहिरी कुनै पक्षबाट पनि ‘थ्रेट’ छैन । निर्वाचनको वातावरण अहिले सबैभन्दा आकर्षक र निर्बाध हुने देखिएको छ । निर्वाचन व्यवस्थापनका लागि सरकारसँग माग गरिएको आवश्यक बजेट पनि निकासाको तयारीमा छ । साथै, आवश्यक सवारी साधन भाडामा लिने वा किन्नेबारे पनि टुंगो लगाइँदै छ । यी सबैले स्थानीय निर्वाचन चुनौतीरहित हुने देखाएका छन् । राजनीतिक दलहरू अहिले सबै खुला रहेका छन् । कुनै पनि पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्था छैन । सबै पार्टीहरू निर्वाचनमा भाग लिने मनस्थिति बनाएर बसेका छन् । केही साना पार्टीहरू निर्वाचन बहिष्कारको अवस्थामा रहन सक्ने आशंका गरिए पनि उनीहरूको यो अभियान प्रचारात्मक बढी हुनेछ । विप्लव नेकपा अहिले खुला राजनीतिमा आइसकेको छ । निर्वाचनका बेलामा आआफ्नो पार्टी र उम्मेदवारको पक्षमा मत खसाल्न वा प्रभावित पार्न केही झडपहरू हुने कुरालाई नकार्न नसकिए पनि निर्वाचन नै बिथोल्ने गरी कुनै अप्रिय घटना हुन जाने सम्भावना अहिले देखापरेको छैन । हालसम्म नेपाल प्रहरीले गरेको सुरक्षा आँकलनअनुसार नेपालका आवधिक निर्वाचनहरूमध्ये यो निर्वाचन सापेक्ष शान्तिपूर्ण हुने देखिएको छ । त्यसैले यसलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउने प्रयास गर्नु सरकारलगायत सबै सरोकारवालाको अहं दायित्व हुन आएको छ ।

प्रतिक्रिया दिनुहोस्