रुस युक्रेन युद्ध : २७ लाख युक्रेनीले देश छोडे



एजेन्सी । युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण लगातार शरणार्थीको संख्या बढ्दै गएको छ । रुसले युक्रेनमा हमला गरेपछि देश छाड्ने युक्रनिको संख्या बढेको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार गएको फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेयता २७ लाख युक्रेनीले देश छोडेका छन् । पछिल्लो २४ घण्टामा मात्रै एक लाखभन्दा बढी युक्रेनीले छिमेकी देशमा शरण लिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

रुस युक्रेन युद्धका कारण युरोपले हाल यो शताब्दीकै ठूलो शरणार्थी संकटको सामना गर्ने देखिएको छ ।युक्रेनबाट विस्थापित भएका अधिकांश छिमेकी देश पोल्याण्ड पुगेका छन् । पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोवमा नयाँ आउने शरणार्थीहरुका लागि बस्ने खाने व्यवस्था गर्न समस्या भइरहेको छ । त्यहाँका अधिकांश शरणार्थी आवास तथा शिविर भरिएका छन्।

युक्रेनीहरु हंगेरी, माल्डोभा, स्लोभाकियासहितका युरोपेली देशमा गएका छन्। युक्रेन छोड्नेमा अधिकांश महिला, बालबालिका, किशोरकिशोरी तथा वृद्धवृद्धा छन् । रुसले आक्रमण थालेपछि युक्रेनमा मार्सल कानुन लागु भएकाले १८ देखि ६० वर्षका पुरुषहरुले देश छोड्न पाएका छैनन् ।

रुसले लगातार सार्वजनिक स्थल तथा आवासीय क्षेत्रलाई निशाना बनाउन थालेपछि विस्थापित हुने र सुरक्षित स्थानमा जान चाहनेहरु बढ्दै गएकाले शरणार्थीको संख्या थप बढ्ने संयुक्त राष्ट्रसंघले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्