आर्सनल र चेल्सीको जित



काठमाडाैं । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल र चेल्सीले जित निकालेका छन् । चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गर्‍यो।  खेल सकिन एक मिनेट बाँकी रहँदा काई हाभार्टजले चेल्सीको लागि विजयी गोल गरे। जितसँगै चेल्सी २८ खेलमा ५९ अङ्कसहित तेस्रो स्थानमा छ। जुन दोस्रो स्थानको लिभरपुलभन्दा सात अङ्क कम हो । 

शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अङ्क छ। आइतबार नै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २-० ले पराजित गरेको हो। घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टेएलेक्सजेण्डर लाकाजेटीले समान एक गोल गरे। खेलको ११औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई  अग्रता दिलाए।  खेलको ५९औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-० अन्तरको सहज जित दिलाए। 

 

प्रतिक्रिया दिनुहोस्