भ्रष्टाचार अरोपमा स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखलाई कालोमोसो



जाजरकोट । भ्रष्टाचार गरेको भन्दै स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई कालोमोसो दलिएको छ । भ्रष्टाचार आरोपमा विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालले जैसीलाई कार्यकक्षमै कालो मोसो दलेर जुत्ताको माला लगाइ दिएको हो ।

जैसीलाई कालो मोसो र जुत्ताको माला लगाएको जिम्मा लिँदै युवा संगठन नेपाल जाजरकोटले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ-‘ ु६ महिना लामो अध्ययन तथा अनुसन्धानपछि कार्यालय प्रमुख टीकाराम जैसीलाई कारबाही गरेका हौं, कार्यालय प्रमुखको जिम्मेवारीबाट तत्काल राजीनामा नदिएमा थप कारबाही गर्न बाध्य हुनेछौं ।’

युवा संगठनले निमित्त व्यवस्थापक जैसीले ५० लाख भन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएको छ । त्यस्तै, अस्पतालको बर्थिङ सेन्टरमा मार्वल तथा टाइल बिच्छाउन सार्वजनिक सूचना प्रकाशन नगरी मिलेमोतोमा निर्माण कम्पनीसँग सम्झौता गरेको, गाउँका स्वास्थ्य चौकीहरुमा समयमै औषधि पठाउन नसकेको लगायतका आरोप लगाइएको छ ।

आफूलाई कारबाही गर्न उनीहरुले लगाएका सबै आरोपहरु गलत र कपोल्कल्पित भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीले बताए । उनले आफूलाई कुटपिट समेत गरिएको बताए । यता जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले स्वास्थ्य कार्यालयमा भएको घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्