स्थानीय निर्वाचन केन्द्रित हुँदै तनहुँका प्रमुख दल



तनहुँ । आगामी ३० वैशाखमा देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन आफ्नो पकडमा पार्ने उद्देश्यले तनहुँमा क्रियाशील राजनीतिक दलले तयारी गरिरहेका छन् । स्थानीय तहको निर्वाचन केन्द्रित भएर गतिविधि  भइरहेका छन्।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै प्रमुख प्रतिपक्ष दल एमालेलगायतका पार्टीले संगठन विस्तारदेखि पार्टी प्रवेशका कार्यक्रम धमाधम गरिरहेका छन् । घोषित अघोषित रूपमा दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित भएको पाइन्छ । कांग्रेसले तनहुँमा घोषित रूपमै स्थानीय तहको निर्वाचन लक्षित गतिविधि थालेको छ। तनहुँ कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आइतबारदेखि ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरिसकेको छ। जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ तथा नगर कमिटीले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका लागि वडावडामा जाने प्रतिनिधि छनोट गरिएको जिल्ला सभापति जितप्रकाश आलेले बताए। ‘गाउँगाउँमा पुगेर मतदाताको सर्वेक्षण गर्ने र पार्टीप्रतिको भ्रमलाई चिर्दैै कांग्रेस जिताउ अभियान चलाउनेछौँ’, उनले भने । यतिबेला निर्वाचनको माहोल कसरी बनाउन सकिन्छ भनेर लागिरहेको उनले बताए । ‘एमसीसीलगायत केही  विषयमा दुविधा उत्पन्न भइरहेका छन् त्यसको भ्रम पनि चिरिरहेका छौँ’, उनले बताए। स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेललगायतका नेताहरू गृहजिल्ला आउने क्रम पनि बाक्लिएको छ।

केन्द्रीय नेताहरू जिल्लामा आएर गाउँगाउँमा पुगेर कार्यकर्तासँग भेटघाट गरिरहेका छन्। नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पनि स्थानीय तहको निर्वाचन केन्द्रित भएका छन् । नेता जोशीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरेको छ । तर पनि उनी आफू पक्षधरका नेतालाई सेटल गर्ने भन्दै गाउँगाउँ पुगिरहेका हुन्छन्।  जोशीले अबको निर्वाचनमा आफू पक्षधरलाई तनहुँ कांग्रेसले नसमेटे जुनसुकै पार्टीसँग तालमेल गरेर अगाडि बढ्ने चेतावनी दिँदै आफू पक्षधरका नेता कार्यकर्तालाई भेट्न चरण चरणमा अभियान चलाइरहेका छन् । उनले भनेका छन्, ‘पहिलो प्राथमिकता कांग्रेससँग मिलेर जाने हो। सम्मानजनक व्यवहार नभए हामी जुनसुकै पार्टीसँग मिलेर निर्वाचन लड्नेछौँ’, उनको चेतावनी छ । यदि जोशी पक्षधरलाई समेट्न नसकेमा स्थानीय निर्वाचन तनहुँ कांग्रेसलाई भारी पर्ने देखिन्छ । एमाले पनि टोलटोलमा कमिटी विस्तार गर्ने अभियानमा केन्द्रित देखिन्छ ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने दाउमा छ एमाले। ‘टोलटोलमा कमिटी गठन गर्ने अभियान व्यापक रूपमा भइरहेको छ । पार्टी प्रवेशका कार्यक्रम पनि भइरहेका छन् । यसैमार्फत जनतालाई गोलबन्द गर्दै गइरहेका छौँ’, एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने । निर्वाचनको संघारमा एमालेविरुद्ध अन्य पार्टीले भ्रम फैलाउन सक्ने भएकाले टोलटोलमा कमिटी विस्तार गरेको उनले बताए । यसपालि पार्टीमा गुटबन्दीको अन्त्य भएकाले अघिल्लो निर्वाचनमा भन्दा राम्रो परिणाम आउने उनको दाबी छ । माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइराला तनहुँमा माओवादी निर्वाचन केन्द्रित भइनसकेको बताइन् । ‘संठगन विस्तार र सुदृढीकरणको अभियान चलिरहेको छ। यो अधिवेशनअन्तर्गत नै हो । अब छिट्टै केन्द्रबाट निर्देशन आउनेछ र हामी स्थानीय तहको निर्वाचन केन्द्रित हुनेछौँ’, उनले भनिन् ।

 निर्वाचन केन्द्रित भएर गाउँ पस्न थाले पनि अघिल्लो निर्वाचनमा आफ्ना पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधीले के कति काम गर्न सफल भए र जनता सन्तुष्ट छन छैन्न भन्नेमा समीक्षा गर्नतर्फ राजनीतिक दलहरूको ध्यान पुगेको छैन् । जनता तानातानको होडबाजीमा लागेका राजनीतिक दलले गम्भीर समीक्षा गर्न पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्