वार्तामाफर्त विवाद समाधान गर्न भारत र पाकिस्तानलाई चीनको आग्रह



एजेन्सी । चीनले वार्तामाफर्त विवाद समाधान गर्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । भारतको मिसाइल प्रहारपछि उत्पन्न विवादलाई वार्तामाफर्त मिलाउन भनेको हो । चीनले भारतबाट भूलबस क्षेप्यास्त्र प्रहार गरिएको घटनापछि उत्पन्न विवादलाई सिधै कुराकानी गरेर समाधान गर्न आग्रह गरेको हो । भारत र पाकिस्तानबीच अन्य विवाद समेत वार्तामार्फत् समाधान हुनु पर्ने चीनको भनाइ छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मिसाइल जस्ता संवेदनशील विषयमा भारत र पाकिस्तानले सूचना आदान-प्रदान बढाउनु पर्ने पनि बताएका छन् । त्यस्तै, चीनले प्राविधिक गडबडीका कारण भारतबाट भएको मिसाइल प्रहारको घटनाबारे संयुक्त छानबिन हुनुपर्ने पाकिस्तानको मागलाई समर्थन गरेको छ ।

दक्षिण एसियामा भारत र पाकिस्तान महत्वपूर्ण मुलुक भएको भन्दै क्षेत्रीय सुरक्षा एवं स्थिरता कायम गर्ने दुबै मुलुकको जिम्मेवारी भएको पनि लिजियानको भनाइ थियो । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले समेत मिसाइल प्रहार भएपछि उत्पन्न विवादलाई भारत र पाकिस्तानले वार्ता गरेर हल गर्नु पर्ने बताएका छन् ।

भारतले एक हप्ताअघि पाकिस्तानमा मिसाइल प्रहार गरेको थियो । कुनै वार हेड (विस्फोटक पदार्थ) नभएका कारण मिसाइलबाट पाकिस्तानमा कुनै क्षति भने भएको थिएन । भूलवश पाकिस्तानमा मिसाइल प्रहार भएको भन्दै भारतले क्षमा मागिसकेको छ । तर पाकिस्तानले भने संयुक्त रुपमा उक्त घटनाको छानबिन हुनुपर्ने माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्