एफसी चितवनद्वारा आइतवार ‘रुकी हन्ट’ सञ्चालन हुने



काठमाडौं । फुटबल क्लब एफसी चितवनले आइतवार चितवनको नारायणगढस्थित क्यापा चौरमा ‘रुकी हन्ट’ (ट्यालेन्ट क्याम्पः खेलाडी छनोट) कार्यक्रम आयोजना गर्ने भएको छ ।
आउँदो अप्रिल ८ तारिखबाट सुरू हुन लागिरहेको नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिस्पर्धी क्लब एफसी चितवनले होम ग्राउन्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
चितवन फुटबल सङ्घको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितामा फुटबल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउनेछन् । खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लिग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ ।
यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन टिमबाट प्रतिष्पर्धामा खेल्न पाउनेछन्।
एफसी चितवन आईएमई ग्रुप अन्तर्गत सञ्चालित गेम अन प्रा.लिको एक फुटबल क्लब हो ।

प्रतिक्रिया दिनुहोस्