सेमिफाइनल प्रवेशका लागि इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै



काठमाडौं : १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा बुधबार (आज) घरेलु टोली इङ्ल्याण्डले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ। यो खेल दुबै टिमको लिग चरणको अन्तिम खेल हो।

आजको खेलमा दुवै टिम गर या मरको अवस्थामा छन्। घरेलु टोली इङ्ल्याण्ड न्युजिल्याण्डलाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्न चाहन्छ। विश्वकपको सेमिफाइनलमा पुग्नका लागि पनि आजको खेल इङ्ल्याण्डले जित्नैपर्ने हुन्छ। यता, न्युजिल्याण्डलाई पनि विश्वकपको सेमिफाइनलमा पुग्नका लागि आजको खेलमा जित्नैपर्ने दबाब छ।

न्युजिल्याण्डले इङ्ल्याण्डलाई हराए उसको मात्रै भाग्य चम्किने छैन पाकिस्तानको पनि भाग्य चम्किने छ। आजको खेलमा इङ्ल्याण्ड पराजित भए पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना प्रवल रहन्छ भने उसले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्नुपर्ने हुन्छ।

तर, आजको खेलमा न्युजिल्याण्ड पराजित भए पाकिस्तानको विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्रै बाँकी रहन्छ। यस्तो अवस्थामा न्युजिल्याण्ड र पाकिस्तानमध्ये एक टिम विश्वकपको सेमिफाइनलमा पुग्नेछ।

न्युजिल्याण्ड ८ खेलबाट ५ मा जित, २ मा हार र १ मा बराबरीसहित ११अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै, इङ्ल्याण्ड ८ खेलबाट ४ मा जित, ३ मा हार र १ मा बराबरीसहित १० अंक जोडेर चौंथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्