बर्डफ्लू नियन्त्रणबाहिर



काठमाडौँ । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणबाहिर गएको छ ।
संक्रमण फैलिएपछि पशु सेवा विभागले लकडाउन तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले सोमबार काठमाडौंमा सरोकारवालासँग गरेको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा .रामनन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर गएको बताए ।
उनका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए ।
कुखुरापालन हुने देशका मुख्य शहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर, धनुषा र बारामा बर्डफ्लू संक्रमण तीव्र गतिमा फैलिएको छ ।
पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउन जानुको विकल्प नभएको पनि उनले प्रष्ट पारे ।
‘नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले लकडाउनको प्रकृतिबारे प्रष्ट पार्न आग्रह गरे। ‘तपाईंहरुले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ, त्यो कस्तो हो स्पष्ट पारिदिनु होला,’ पुरीले भने ।
पोल्ट्री विज्ञ एवं नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनका आयोजना निर्देशक डा.उमेश दाहालले अहिले कुनै आफू जोगिएँ भन्दा भोलि सबैलाई संकटमा पार्ने बताए । नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले नेपालमा फैलिएको बर्डफ्लूको क्षति ठूलो हुने उल्लेख गर्दै पूर्वतयारीमा जोड दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्