उम्मेदवार छैनन्, मतको अपिल



काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेलको स्पष्ट मापदण्डसमेत तयार गर्न नसकेका सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूले आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । एक जना पनि साझा उम्मेदवार सिफारिस गर्न नसके पनि शीर्ष नेताहरूले यस्तो आह्वान गरेका हुन्।

लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रपूर्वक अगाडि बढाउन, नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै देशको सर्वाङ्गीण र अग्रगामी विकाससँगै समृद्धि हासिल गर्न गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्ने उनीहरूले स्पष्ट पारे। जबकि, गठबन्धनले गठन गरेको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको अलमल तालमेलको ‘मोडालिटी’मै छ। २२ चैतमा गठित समितिको बैठक ४ पटक बसिसक्यो।

ठोस प्रगति भएको छैन। समिति मोडालिटीमै अल्मलिँदा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अपिलमार्फत गठबन्धन बनाएर निर्वाचनमा जानुको औचित्य प्रष्ट पनि पारेका छन् । उनीहरूले भनेका छन्, ‘नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता, उन्नतिका लागि स्थानीय बासिन्दाहरूको कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौँ ।’

गठबन्धनका नेताहरूको १७ चैतमा बसेको बैठकले वडा तहसम्मै तालमेल गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । २२ चैतमा बसेको बैठकले भने तालमेलको मोडालिटी र अनुगमन गर्न भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो । समितिको आइतबार बसेको बैठकले भने गठबन्धनका नेताहरूलाई संयुक्तरूपमा अपिल जारी गर्न लगाउने निर्णय गरेको थियो ।

सोहीअनुसार अपिल जारी भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले बताएकी छिन् । गठबन्धनको अर्को बैठक मङ्गलबार दिउँसो ४ बजे बस्नेछ । बैठकबाट वडा तहसम्मै गठबन्धनले तालमेलको मापदण्ड र प्रक्रिया तयार गरिने पौडेलले बताइन् । तर, चितवन, कञ्चनपुर, रुकुम (पूर्व)लगायत जिल्लामा भने तालमेल नगर्ने मत व्यक्त हुँदै आएको छ। यस्तो अवस्थाबीच गठबन्धन नेताहरूको मङ्गलबारको बैठकले मापदण्ड र प्रक्रिया तयार गर्ने भनिएको छ। त्यसपछि भने साझा उम्मेदवार तयार गर्न सहज हुने गठबन्धनले जनाएको छ।

महानगरपालिका र उपमहानगरपालिकाको तालमेल केन्द्रबाट, नगरपालिकाको प्रदेशबाट, गाउँपालिकाहरूको जिल्ला र वडापालिकाको तालमेल गाउँपालिकाको सिफारिसका आधारमा गर्ने गठबन्धनको यसअघिकै निर्णय छ । त्यसका लागि पालिकास्तरसम्म ५ दलको संयन्त्र पनि गठन भइसकेको छ। गठबन्धन दल एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले ठाउँ विशेषको स्थिति, २०७४ सालमा गठबन्धनका दलहरूले प्राप्त गरेका मत संख्या र वर्तमान अवस्थाको विश्लेषण गरिएकोले चाँडै तालमेलको विषय टुंगो लगाइने बताएका छन्। उनको पार्टीले नेकपा एमालेले जितेको स्थानीय तहको आधा पाउनुपर्ने माग गर्दै आएको छ । आधा भने गठबन्धनका अन्य दलहरूले लिन सक्ने स्पष्ट पारेको छ । र, भाग पाएको स्थानमा मात्र उम्मेदवार दिने आइतबारे नै निर्णय गरिसकेको छ । तर, यसबारे टुंगो लाग्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्