सूर्य चिह्नका लागि दाउमा राजनीति



काठमाडौं । स्थानीय तह निर्वाचन ऐनविपरीत नेकपा एमालेको निर्वाचन चिह्न सूर्यलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र नेपाल परिवार दलले प्रयोग गर्ने भएका छन्। ३० वैशाखमा हुने निर्वाचनमा तालमेल गर्ने र निर्वाचन चिह्नको रूपमा सूर्यलाई प्रयोग गर्नेबारे २ दलले एमालेसँग छुट्टाछुट्टै सहमति गरे।

बुधबार भएको सहमति पत्रमा एमालेको स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहालसँगै राप्रपा नेपालको तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठ र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार दुवै दलले आ–आफ्ना निर्वाचन चिह्न छाडेर एमालेको सूर्य प्रयोग गर्नेछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को निर्वाचन चिह्नसम्बन्धी प्रावधानको उपदफा (३) अनुसार जुन दलको निर्वाचन चिह्नलाई सम्बन्धित दल र दलका उम्मेदवारबाहेकले प्रयोग गर्न पाउँदैन । त्यहाँ भनिएको छ, ‘निर्वाचन चिह्न त्यस्तो दलका उम्मेदवार वा दलबाहेक अरू कसैले पनि प्रयोग गर्न पाउनेछैन ।’

यही कानुनी प्रावधानविपरीत एमालेको निर्वाचन चिह्न सूर्य प्रयोगबारे राप्रपा नेपाल र नेपाल परिवार दलले सहमति गरेका हुन् । सूर्य चिह्न प्रयोग गर्ने दुवै दल संसद्मा छैनन् । कमल थापा नेतृत्वको राप्रपा नेपाल त गएको माघमा निर्वाचन आयोगमा दर्ता भएको हो । निर्वाचन चिह्न ‘तीर’ छ। तीरलाई हिन्दू धर्मसँग जोडेर थापाले व्याख्या गरेका छन्। तर, उनै थापा आफ्नै दलको निर्वाचन चिह्नबाट मतदातामाझ जान चाहँदैनन्। स्थापित निर्वाचन चिह्नबाटै मतदातामाझ जाने भएका हुन्। थापा निकट नेता राजाराम बर्तौलाले निर्वाचनमा तालमेल गर्ने भएपछि मतदातालाई मतदानमा सहज होस् भनेर सूर्य चिह्न प्रयोग गर्ने भएको स्पष्ट पारे। ‘स्वाभाविकरूपमा हाम्रा कम र एमालेका धेरै उम्मेदवार हुन्छन् । त्यसो हुँदा आ–आफ्नो निर्वाचन चिह्नसहित निर्वाचनमा जाँदा त मतदातालाई २ फरक चिह्न खोज्न समय लाग्छ।

झन्झट हुन्छ । त्यही भएर एउटै निर्वाचन प्रयोग गर्ने भनिएको हो’, नेता बर्तौलाले भने। निर्वाचनमा मनोनयन दर्ता गर्दा निर्वाचन चिह्न सूर्य भए पनि पार्टी भने राप्रपा नेपाल उल्लेख हुने बताए । उनले भनेका छन्, ‘सूर्य चिह्न मात्र प्रयोग गर्ने हो दल त हाम्रै हुन्छ ।’ सूर्य चिह्न प्रयोग गर्ने अर्को पार्टी परिवार दलको निर्वाचन चिह्न ‘साँचो’ हो । सोही चिह्नमा खसेको मतका आधारमा उक्त दलका अध्यक्ष एकनारायण ढकाल समानुपातिक सांसद हुँदै मन्त्री नै भए । यसपटक भने उनले यो चिह्न प्रयोग नगर्ने भएका हुन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली एक दलको निर्वाचन चिह्न अर्को दलले प्रयोग गर्नुलाई कानुनसम्मत ठान्दैनन् । उनका अनुसार निर्वाचन कानुन र संविधानलाई राजनीतिक सहमतिले प्रतिस्थापन गर्न सक्दैन । ‘जुन दलको चुनाव चिह्न हो, त्यो चिह्नमा खसेको मत त्यही दलको भन्ने हुन्छ।

निर्वाचन कानुनले पनि त्यही भन्छ र राजनीतिक रूपमा दलहरूबीच भएको सहमतिले कानुन र संविधानको प्रावधानलाई प्रतिस्थापन गर्दैन’, उनले भने, ‘त्यसरी भिन्न दलको निर्वाचन चिह्न प्रयोग गर्नु कानुनसम्मत हुँदैन।’ २०४३ मा पहिलो पटक जनपक्षीय उम्मेदवार हुँदा पद्मरत्न तुलाधरले सूर्य चिह्न प्रयोग गरेका थिए । सोही चिह्नबाट उनले ३ पटक निर्वाचन जिते। र, २०४७ मा नेकपा (माले) र माक्र्सवादीबीच एकता भएर एमाले गठन हुँदा एमालेले सूर्य चिह्न रोजेको हो । सोही चिह्नबाट २०७४ मा भएको संघीय संसद्को निर्वाचनमा हृदयेश त्रिपाठीले पनि सूर्य चिह्न प्रयोग गरेका थिए । निर्वाचित पनि भए । अहिले भने उनकै नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन भएको छ ।यस पटक थापा र ढकाल नेतृत्वको पार्टीले पनि त्रिपाठीले जसरी सूर्य चिह्नलाई प्रयोग गर्ने भएका हुन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक दलको निर्वाचन चिह्न दलभन्दा बाहिरकाले पनि प्रयोग गर्न मिल्ने बताए। तर, दलका रूपमा एमाले नै उल्लेख गर्नुपर्ने उनको भनाइ छ । उनले सूर्य चिह्न प्रयोग गर्ने भए एमालेकै रूपमा उम्मेदवारी दर्ता गराउनुपर्ने बताए। निर्वाचन कानुनअनुसार दलीय अनुशासन निर्वाचित जनप्रतिनिधिमाथि लागू हुन्छ । त्यस्तो अवस्थामा एमालेले सूर्य चिह्नबाट निर्वाचित अन्य पार्टीका जनप्रतिनिधिमाथि पनि कारबाही गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्