टुंगिएन गठबन्धनको तालमेल : क्षमता र प्रभाव कम, दाबी बढी



काठमाडौं । ५ दलीय गठबन्धनमा रहेका प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले निर्वाचनमा तालमेल चुनौतीपूर्ण भएको निष्कर्ष निकालेका छन्। चुनौतीपूर्ण भए पनि तालमेल गर्नुको विकल्प भने नभएको दुवै दलले औँल्याएका छन्।

निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता गर्न ८ दिन बाँकी छ। यहीबेला यी २ दलको गठबन्धनका दलहरूबीच तालमेल मुस्किल रहेको निष्कर्ष आउनुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन् । कांग्रेसको निर्वाचन कमाण्डर भनिएका पार्टी उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक पूर्णबहादुर खड्काले शुक्रबार तालमेल गर्ने कदम सहज नभएको तर पार्टीले गरेको निर्णय कार्यान्वयन अनिवार्य रहेको बताएका बैठकमा सहभागी एक नेताले बताए। उनका अनुसार तालमेल गर्नुको कारण संघीय सरकारलाई जोगाउन रहेको खड्काले प्रष्ट पारेका थिए। संघीय सरकारको नेतृत्व पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवाले गर्दै आएका छन्।

‘पार्टीले गरेको निर्णय अनुशासनको घेरामा पर्छ। निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सभापतिदेखि सबै निकायका साथीहरूका सवालमा पनि लागू हुन्छ। गठबन्धन बचेन भने केन्द्रीय सरकार पनि बच्दैन, ढल्छ । माधव नेपाललगायत नेतृत्वको पार्टीलाई सडकमा छाड्नुहुँदैन। त्यो कांग्रेसको नैतिकतामा पर्दैन’, खड्काको भनाइ उद्धृत गर्दै ती नेताले बताए। १५ चैतमा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले निर्वाचनमा स्थानीय आवश्यकता र औचित्यको आधारमा तालमेल गर्ने निर्णय बहुमतले गरेको थियो। यसको अर्थ ७५३ वटै स्थानीय तहमा गठबन्धनका दलहरूबीच तालमेल नगर्ने भन्ने हो। अर्थात्, कांग्रेस कमजोर भएको ठाउँमा तालमेल गर्ने र बलियो भएको ठाउँमा नगर्ने भन्ने हो। सोही निर्णयलाई उपसभापति खड्काले सबै कांग्रेस नेता, कार्यकर्ता अनुशासनको घेरामा पर्ने बताएका हुन् ।

तर, तालमेलबारेको निर्णय भने केही जिल्लामा तोडिन थालेको देखिएको छ। प्रदेश १ को पहाडी जिल्ला सङ्खुवासभामा गठबन्धनका २ दल कांग्रेस–माओवादीले सहकार्य नगर्ने निश्चित भएको छ। माओवादी केन्द्रको सङ्गठन बलियो भएका जिल्ला रोल्पा, रुकुमलगायत केही जिल्लामा पनि सहकार्य नहुने सम्भावना छ। २८ चैत २०७८ मा ५ दलका शीर्ष नेताहरूले अपिल जारी गर्दै देशभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आग्रह गरेका थिए । तर, भागबण्डाको विषयलाई लिएर गठबन्धनका दलहरूबीच तालमेलका लागि कतिपय ठाउँमा मुस्किल परेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलहरूले बलियो दाबेदारी प्रस्तुत गरेकै कारण तालमेल टुंग्याउन मुस्किल परेको बताएका छन् ।

गठबन्धनको एउटा घटक नेकपा (एकीकृत समाजवादी)ले साङ्गठनिक क्षमता र प्रभावभन्दा बढी सिट मागेको प्रचण्डले शुक्रबार खुमलटारस्थित उनकै निवासमा बसेको विस्तारित बैठकमा भनेको मधेस प्रदेशका इन्चार्ज गणेश साहले बताए । ‘सबै दलसँग चुनावी गठबन्धन गाह्रो छ । माधव नेपालसँग अलिक सजिलो होला कि भनेको थिएँ। उहाँसँग पनि सजिलो नभएको रिपोर्ट आइरहेको छ’, साहले प्रचण्डको भनाइ उद्धृत गर्दै द नेपालटपसँग भने, ‘कांग्रेससँग त गाह्रो छँदै छ। औकातभन्दा बढी सिट मागिएको छ।’ प्रचण्डले गठबन्धन दलहरूबीच सबै स्थानीय तहमा तालमेल नहुने पनि बताएका छन्। त्यस्तो अवस्थामा गठबन्धनभित्र पनि निर्वाचनमा प्रतिस्पर्धा हुने र त्यसका लागि तयारी गर्नुपर्नेमा पनि प्रचण्डको जोड थियो।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एससँगै जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन्। गठबन्धनका शीर्ष नेताहरूले २९ चैत २०७८ मा तालमेलका ७ मापदण्ड तयार गरेका थिए। मापदण्ड तयार भए पनि भागबण्डा नमिलेको हो। ६ वटा महानगरपालिकामध्ये गठबन्धनका कुन दलले कुन महानगरपालिका पाउने भन्ने टुंगो नै लाग्न सकेको छैन। उपमहानगरपालिकाबारे पनि टुंगो लाग्न बाँकी छ । गठबन्धन दलका शीर्ष नेताहरूले महानगरपालिका र उपमहानगरपालिकाको टुंगो केन्द्रबाटै गर्ने निर्णय गरिसकेका छन् । तर, गठबन्धन दलको बढी दाबीकै कारण बाँडफाँट नटुंगिएको एक गठबन्धन दलकै एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्