मरिपोल सहरका सर्वसाधारणको चीत्कार : बंकरभित्र हामी मर्ने अवस्थामा छौँ’



एजेन्सी । युक्रेनको मरिपोल शहरमा सर्वसाधारणहरू भत्किएको भवनको बंकरमा फसेका छन् । बिबिसीका अनुसार रुसी सेनाले आक्रमण गरेको मारिपोल सहरमा सर्वसाधारणहरू भत्किएको भवनको बंकरमा फसेका छन् । 

रुसको आक्रमणका कारण मारिपोलका धेरै भौतिक संरचना ध्वस्त भइसकेका छन् । जीवन रक्षाका लागि भवनका बंकरमा रहेका सर्वसाधारण बाहिर निस्कन नसक्ने अवस्थामा रहेका छन् ।

मारिपोललाई रुसले कब्जा गरिसकेको भनिए पनि त्यहाँ अझै लडाइँ जारी छ । केही दिनअगाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिपोल रुसी सैनिकको कब्जामा आएको बताएका थिए ।

पुटिनले मारिपोलमा रहेको स्टिल प्लान्ट बन्द गर्न चाहेकोले आक्रमण गरेको बताएका थिए। पुटिनले उक्त औद्योगिक क्षेत्रमा झिँगा पनि पस्न नदिने आदेशसमेत दिएका थिए ।

मारिपोल रुसको बम आक्रमणबाट एक सातामै ध्वस्त भइसकेको छ। त्यहाँका नागरिक भत्किएका संरचनाको तल रहेका बंकरहरूमा फसेका छन् । अहिले नागरिकहरू युद्धग्रस्त क्षेत्र भन्दा पर छन्।

हरेक बंकरमा ८० देखि १०० जना मानिस रहेको अनुमान गरिएको छ। भवन भत्किएको कारण उनीहरूसँग सम्पर्क टुटेको छ। बंकरका प्रवेशमा भवनका भग्नावशेषले पुरेकोले उनीहरूको अवस्थाको बारेमा जानकारी लिन अफ्ठ्यारो भइरहेको जनाइएको छ ।

सम्पर्क भएका नागरिकहरूले बंकरमा स-साना बालबालिका रहेको र केही नागरिक घाइते रहेको बताएका छन्। त्यहाँको स्थानीय प्रशासनले फसेका नागरिकहरूलाई उद्धारको लागि पहल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्