बागी मिलाउन अन्तिम कसरतमा दल, भरतपुरमा प्रतिष्ठाको लडाइँ



काठमाडौं । सत्ता गठबन्धनले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरपालिकाका प्रमुखका प्रत्यासी जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता लिन दलहरू असफल भएका छन्। कांग्रेसका पुराना कार्यकर्तासमेत रहेका बरिष्ठ अधिवक्ता पौडेलको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन गठबन्धन दलका शीर्ष नेतादेखि पूर्वप्रधानन्यायाधीशसम्मको प्रयास असफल भएपछि गठबन्धनभित्र खटपट सुरु भएको छ।

६ महानगरपालिकाको भागबन्डा गर्दै भरतपुरको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट वर्तमान प्रमुख रेणु दाहाललाई नै अघि सार्ने सहमति भएपछि कांग्रेस स्थानीय कार्यकर्ता रुष्ट थिए। असन्तुष्ट कांग्रेस कार्यकर्ताको भावनालाई प्रतिनिधित्व गर्दै पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस सभापतिले २ जना प्रतिनिधलिाई घोषित रूपमै पौडेल फकाउन पठाए । गठबन्धन दलका शीर्ष ४ जना नेताले पालैपालो फोन पनि गरे।

देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा–एकीकृत समाजवाद)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईदेखि कांग्रेस दोस्रो तहका अधिकांश नेताले मनोनयनयता उनलाई पटकपटक फोन गरे। तर, उनको एउटै अडान छ, ‘मेरो उम्मेदवारी चितवनका कांग्रेस कार्यकर्ता र मतदाताको भावनाअनुसारको हो फिर्ता हुँदैन।’ फकाउन विमान चढेर भरतपुर पुगेका गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणसँग पौडेलले चितवनका कांग्रेसमा भोट हाल्नेको मान, मर्यादा, प्रतिष्ठा र इज्जत जोगाउन पनि उम्मेदवारी फिर्ता नलिने अडान लिए।

राज्यमन्त्री उमेश श्रेष्ठ पनि पौडेल फकाउन चितवन पुगे तर पौडेल टसमस भएनन् । भेटघाट, शीर्ष नेताका फोन र चितवनकै केही कांग्रेस नेताको आग्रह पनि पौडेलले नमानेपछि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसमेतले उनलाई फकाउने प्रयास गरेका छन्। पुरानो चिनजानका पौडेललाई भेटेर आफूले स्वतन्त्र उठ्दा चुनाव हार्न सकिने भन्दै पुनर्विचार गर्न भनेको पराजुली बताउँछन्।

उनले कांग्रेसका लागि र गठबन्धनका लागि नभई साथीका नाताले हार्न सक्ने खतरातर्फ मात्र सङ्केत गरेको दाबी गरे पनि स्थानीय कांग्रेस कार्यकर्ता भने पूर्वप्रधानन्यायाधीशले ‘साथीको नाताले’ भन्दै उम्मेदवारी फिर्ता लिन दबाब दिएको दाबी गर्छन् । पौडेल टसमस नहुने देखेका देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीका लागि बागी उम्मेदवारी दिएका नेता, कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेका छन्। पार्टी ५ दलीय गठबन्धनसँगै निर्वाचनमा होमिएको भन्दै देउवाले भागबन्डामा नपरेको स्थानबाट उम्मेदवारी फिर्ता लिन आह्वान गरेका छन् ।

देउवालाई गृहजिल्लामै सकस
भरतपुरको चुनावी तालमेलले ‘टाउको दुखाइरहेका’ बेला देउवाको गृहजिल्ला डडेल्धुरका नेता, कार्यकर्ता पनि तालमेलको विपक्षमा उभिँदै विद्रोहमा उत्रिएका छन्। जिल्लाका पूर्वसभापति कर्णबहादुर मल्लको नेतृत्वमा सबै पालिकामा बागी उम्मेदवार खडा भएपछि देउवाले मल्ललाई पार्टीको साधारण सदस्य नै नरहने गरी निश्कासन गरे ।

तर, उनले एमालेसँग मिलेर थालेको चुनावी अभियान रोकेनन् । पार्टीले कारबाही गरेपछि उनले प्रदेशसभा सदस्यबाट समेत राजीनामा घोषणा गरेका छन् । पार्टीले निश्कासन नै गरेको र प्रदेशसभा सदस्यबाट राजीनामा दिएको अवस्थामा अब कांग्रेसको दबाब र ह्वीप आफूहरूलाई नलाग्ने उनको भनाइ छ।

उता, पोखरा महानगरमा गठबन्धनका तर्फबाट नेकपा एसलाई प्रमुख पद दिएपछि कांग्रेसकै ३ जना नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले पनि बिहीबारसम्म उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्