गठबन्धनलाई बिझाएको भरतपुर



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई आफ्नै नेता, कार्यकर्ताले बेवास्ता गरेका छन्। बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने पनि चेतावनी देउवाको थियो । तर, उनको केही सीप चलेन।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा बागी उम्मेदवारी दिएका कांग्रेसकै स्थानीय नेता जगन्नाथ पौडेलले नाम फिर्ता लिएनन् । फिर्ता नलिएपछि प्रचण्डकी पुत्रीसमेत रहेकी भरतपुरकी निवर्तमान प्रमुख रेणुलाई ३० वैशाखमा हुने निर्वाचनमा जितका लागि चुनौती थपिएको छ। देउवाले फोन गरेर पौडेललाई बूढानीलकण्ठमा बोलाएका थिए । तर, पौडेलले काठमाडौं आउन समय नभएको जबाफ दिएका थिए।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठसहित चितवनका अन्य नेतालाई पौडेलकै घरमा पनि पठाएका थिए । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसमेत ‘साथीको हैसियत’मा पौडेललाई ‘सम्झाउन’ चितवन पुगेका थिए। बिहीबारदेखि शुक्रबार बिहानसम्म बागी उम्मेदवारी फिर्ता लिन बारम्बार आग्रह गर्दा पनि पौडेल भने अडानबाट टसमस भएनन् । अन्ततः बागी उम्मेदवार भएरै छाडे पौडेल । उनीसँगै उनका प्रस्तावक र समर्थकले पनि पार्टीको साधारण सदस्यतासमेत गुमाएका छन् । माओवादी अध्यक्ष प्रचण्डले पौडेललाई बागी उम्मेदवारी फिर्ता लिने वातावरण बनाउन देउवामाथि दबाब दिएका थिए । तर, उम्मेदवारी फिर्ता लिनभन्दा पौडेल कारबाही भोग्न तयार भए ।

देशका ६ वटा महानगरपालिकामध्ये माओवादीले तालमेलको क्रममा पाएको १ मात्र महानगरपालिका भरतपुर हो। ५ दलीय गठबन्धनमा रहेको अर्को दल नेकपा (एकीकृत समाजवादी)ले तालमेलको क्रममा पाएको पोखरा महानगरपालिकामा पनि एक जना कांग्रेस नेताले बागी उम्मेदवारी फिर्ता लिएनन् । उनी हुन्– विमलबहादुर कार्की । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नु अनुचित भएको तर्क गर्दै गठबन्धन गर्ने सभापति देउवाको कदम नै गलत भएको तर्क कार्कीले गरे। उनले उम्मेदवारी फिर्ता नलिँदा गठबन्धनका आधिकारिक उम्मेदवार नेकपा एसका धनराज आचार्यलाई निर्वाचनमा जितका लागि असहज हुने देखिएको छ।

उनलाई पनि देउवाले फोन गरेर उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए। तर, फिर्ता लिन मानेनन्। देउवाको आग्रहअनुसार अर्का २ जना नेता ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले भने उम्मेदवारी फिर्ता लिए। आधिकारिक उम्मेदवार आचार्यले कार्कीले उम्मेदवारी फिर्ता नलिए पनि खासै फरक नपर्ने बताए । ‘म त ५ दलको प्रमुख पदका साझा उम्मेदवार हुँ । उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटजी हुनुहुन्छ । हामीलाई निर्वाचन जित्न असहज छैन’, आचार्यले द नेपालटपसँग भने ।

पूर्वकानुनमन्त्रीसमेत रहेका नेता यज्ञबहादुर थापा, कास्की सभापति किशोरदत्त बराललगायतले देउवालाई भेटेर यसअघि पोखरा महानगरपालिका कांग्रेसको भागमा पार्न दबाब दिएका थिए । तर, एकीकृत समाजवादीलाई पर्‍यो। यद्यपि, थापा गठबन्धनको उम्मेदवार आचार्यसहितलाई मत माग्न व्यस्त छन् । उनकै पार्टीका कार्की भने विद्रोही बने र शुक्रबार उनी पनि चितवनका बागी उम्मेदवार पौडेल जसरी नै साधारण सदस्यबाट हटाइएका छन् ।

शुक्रबार नै बसेको गठबन्धन दलका शीर्ष नेताहरूले पनि बागी उम्मेदवारी फिर्ता लिन अन्तिम पटक आग्रह गरेका थिए। तर, पौडेल, कार्कीलगायत केहीले पार्टीको कारबाही भोग्ने, उम्मेदवारी फिर्ता नलिने अडान कायम राख्दै पार्टीलाई नै चुनौती खडा गरिदिए।

प्रतिक्रिया दिनुहोस्