जनताले विवेक पर्‍याउनुपर्छ



स्थानीय तह निर्वाचनको चहलपहल बढेसँगै दूरदराजका स्थानीय जनता फेरि पनि निधार खुम्च्याएर घोरिन बाध्य भएका छन् । निर्वाचनको रौनकले उनीहरूको अनुहारमा उज्यालो कान्ति ल्याउन सकेको छैन । उम्मेदवारहरू भने भोट माग्दै गाउँ चहारिरहेका छन् । पहाडका दुर्गम गाउँ र तराईका पिछडा इलाकाहरूमा उम्मेदवारहरू पुग्न बाँकी छ । तर, त्यहाँका जनताले अहिले पनि उम्मेदवारहरूले जनप्रतिनिधिका रूपमा निर्वाचित हुनका लागि झूठा आश्वासनका पोकापन्तुरा बोकेर आउँदै छन् भन्ने पहिल्यै अनुमान गरिसकेका छन् ।
त्यसो त यस पटकको स्थानीय निर्वाचनको उम्मेदवारमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । सुरुका दिनमा ती बस्तीहरूमा पुगेर जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि ती पुराना अनुहार बितेका ४ वर्षे कार्यकालमा एक पटक पनि ती बस्तीहरूमा फर्केर गएका छैनन् । उनै अनुहारहरू अहिलेको स्थानीय निर्वाचनमा फेरि पनि दोहोरिएपछि स्थानीय जनतामा आशा र भरोसाको सञ्चार हुन सकिरहेको छैन ।
स्थानीय जनता भनेका के भोट बैंक मात्र हुन् ? भन्ने प्रश्न पनि यतिबेला उठिरहेको छ । स्थानीय जनताका लागि सेवा, सुविधा उनीहरूकै घरदैलोमा पु¥याउने उद्देश्यका साथ स्थापना गरिएको सरकारका जनप्रतिनिधि ४ वर्षको कार्यकालभर एक पटक पनि ती जनताको घरदैलोमा पुग्न नसक्दा ती प्रतिनिधिहरूले कस्ता खालका सेवा र सुविधा जनताको घरदैलोमा पु¥याए होलान् ? सहजै अनुमान गर्न सकिन्छ । यसले निर्वाचनका नाममा फेरि पनि जनता ठगिने नै हुन् भन्ने देखाएको छ ।
जनताका मागहरू पूरा गर्न नसकिने भयङ्कर ठूला पनि छैनन् । जनताले पानी, बाटो, शिक्षा, स्वास्थ्य र बिजुलीको माग गरिरहेका छन् । यी कुरा हरेक व्यक्तिका लागि अत्यावश्यकीय कुराहरू हुन् । यिनलाई संविधानले पनि मौलिक अधिकारका रूपमा व्यवस्था गरी जनताका बीचमा पु¥याउन दिशा निर्देश गरेको छ ।
अहिले स्थानीय निर्वाचनलाई मध्यनजर गरेर सबै राजनीतिक दलहरूले आआफ्ना घोषणापत्र जारी गरिसकेका छन् । केन्द्रीय रूपमा जारी गरिएका घोषणापत्रहरूले स्थानीय जनताका समस्या, माग र मर्महरू सम्बोधन गर्न सक्ने हुन् वा होइनन् ? भन्ने प्रश्न पनि उठिरहेका छन् । तर पनि घोषणापत्र जनताका बीचमा यो वा त्यो रूपमा दलका उम्मेदवारहरू, बागी उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले लगिसकेका छन् । स्थानीय तहको निर्वाचन भएकाले उम्मेदवार बनेका अनुहारहरू जनताबाट छिपेका वा नौला अनुहार भने अवश्यै होइनन् । त्यसैले गाउँ र नगरअनुकूल काम गर्न सक्ने उम्मेदवार छनोट गर्न स्थानीय जनताले आफ्नो विवेक सही रूपमा प्रयोग गर्न सक्नै पर्छ ।
यसबेला मतदाताका रूपमा रहेका स्थानीय जनता कसैको पनि दबाब र प्रलोभनमा पर्नुहुँदैन । पैसा र रबाफमा पनि भुल्नु र चुक्नुहुँदैन । आफू र आफ्ना सन्ततिको भविष्यका साथै आफूले प्राप्त गर्नुपर्ने सेवा, सुविधाका साथै आगामी ४ वर्षसम्म गाउँमा हुनुपर्ने विकास निर्माणका कुरामा पनि हेक्का राख्नुपर्छ । अरूको लहलहैमा आफ्नो अमूल्य मत आगामी ४ वर्षसम्मका लागि खेर फाल्नुहुँदैन । यही चुरो कुरामा स्थानीय जनताले स्वविवेकको प्रयोग बिनाहेलचेक्र्याइँ गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्