महानगर : प्रमुख दलका प्रतिष्ठाको प्रश्न



काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेको राजनीतिक प्रतिष्ठा महानगरपालिकाको निर्वाचनसँग जोडिएको छ । गठबन्धनको ‘मिसन’ यस पटक महानगरपालिकामा एमालेलाई शून्य बनाउनेछ । ६ वटै महानगरपालिकामा गठबन्धन दलहरूले तालमेल गरेका छन् । उपमहानगरपालिकामा पनि तालमेल छ तर गठबन्धन दलहरूका लागि महानगरपालिकाको निर्वाचन भने प्रतिष्ठाको विषय बनेको हो ।
अघिल्लो पटक भएको निर्वाचनमा गठबन्धनमा रहेको दल कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिका जितेको थियो । नेकपा (माओवादी केन्द्र)ले भरतपुर र जनता समाजवादी पार्टी (जसपा)ले वीरगंज महानगरपालिका जितेका थिए । बाँकी २ वटा महानगरपालिका काठमाडौं र पोखरा भने एमालेले जितेको थियो । यी दुवै रणनीतिक महŒवका महानगरपालिका हुन् ।
यस पटक गठबन्धनका ३ दल कांग्रेस, माओवादी र जसपाले अघिल्लो पटक जितेका महानगरपालिका बाँडफाँट गर्दै एमालेले जितेका २ मध्ये काठमाडौं कांग्रेसले र पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)ले बाँडेका छन् । एकीकृत समाजवादी एमालेबाटै अलग भएका नेता माधवकुमार नेपाल नेतृत्वको दल हो ।
कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले एमालेलाई प्रतिगामी राजनीतिक शक्तिको संज्ञा दिँदै उसलाई ‘साइज’मा ल्याउन निर्वाचनमा तालमेल गरिएको र सबै महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले जित्ने बताए ।
उनले जितको आधार पनि सुनाए । उनका अनुसार काठमाडौंमा एमाले उम्मेदवार केशव स्थापित यौनजन्य हिंसामा मुछिएका छन् । स्थापितले निर्वाचन जिते काठमाडौंमा महिला सुरक्षामाथि प्रश्न उठ्ने उनको दाबी छ ।
‘काठमाडौं महानगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार बन्नुभएका केशवजी यौनजन्य हिंसामा मुछिनुभएको छ । उहाँले निर्वाचन जिते के होला महिला सुरक्षाको स्थिति ? प्रश्न नउठ्ला र ? हो, त्यही भएर सबै काठमाडौंको विकासको सवाल मात्र होइन, सुरक्षाको सवाल पनि भएकाले गठबन्धनको उम्मेदवार सिर्जना सिंहजीले जित्नु हुनेछ’, आङ्देम्बेले द नेपालटपसँग भने ।
केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा स्थापितले महिला हिंसाको कसुर आकर्षित हुने खालका अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर निर्वाचन आयोगले सोमबार उनलाई स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
आङ्देम्बेले काठमाडौंमा सिंहको जितको अर्को आधार गठबन्धनमा रहेका दल माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको मत थपिने हुनु पनि बताए ।
‘अघिल्लो पटक कांग्रेस एक्लै थियो, यस पटक जनमत ठिकै भएका ४ दल पनि छन्’, आङ्देम्बेले भने, ‘यही भएर निर्वाचन जित्न त्यति अहसहज छैन ।’
तर, स्थापितले २०५४ सालमा प्रमुख हुँदा सडक विस्तार गर्नेदेखि काठमाडौंलाई थप व्यवस्थित र विकसित शहर बनाउन भूमिका खेलेका कारण काठमाडौंवासीको रोजाइमा पर्ने एमाले उपाध्यक्ष युवराज ज्ञवाली दाबी गर्छन् ।
उनले गठबन्धनकी उम्मेदवार सिंह राजनीतिक व्यक्तित्व भए पनि व्यवस्थित काठमाडौं शहर बनाउने ‘भिजन’ नभएकी नेत्री भएको टिप्पणी गरे ।
‘स्थापितजी परीक्षण भएको नेता हुनुहुन्छ । उहाँले काठमाडौं शहरको विकासको दृष्टिले रूपान्तरण गर्न सक्नुहुन्छ । काठमाडौंवासीले उहाँको क्षमता थाहा पाउनुभएको छ’, उपाध्यक्ष ज्ञवालीले भने, ‘त्यही भएर सिर्जनाजीलाई पराजित गरेर एमालेको जितलाई निरन्तरता दिन सक्नुहुन्छ । यसमा शङ्का छैन । सिर्जनाजीको भिजन छैन ।’
सिर्जनाले हालै ७ सङ्कल्प सार्वजनिक गरिसकेकी छन् । सेवा र सुशासन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, सुरक्षित शहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पूर्वाधारसँगै सबल युवा, स्वावलम्बी महिला र सिर्जनशील महानगरपालिकावासी बनाउने उनको सङ्कल्प छ ।
स्थापितले काठमाडौं महानगरपालिकाको समुचित विकासका लागि भन्दै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
यहाँ अन्य पनि प्रमुख पदका दाबेदारहरू छन् । तर, प्रमुख दाबेदार सिंह र स्थापित नै हुन् । उनीहरूमध्ये कसले प्रमुख पदको कुर्सी पाउलान् ? यसका लागि भने ३० वैशाखमा हुने निर्वाचनको परिणाम कुर्नुपर्ने हुन्छ ।
काठमाडौंको नजिक रहेको अर्को महानगरपालिका ललितपुर हो । अघिल्लो पटक कांग्रेसले जितेको यो महानगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनलाई निर्वाचन जित्न निकै सहज हुने आङ्देम्बे बताउँछन् ।
‘६ महानगरपालिकामध्ये सबैभन्दा राम्रो काम भएको महानगरपालिका ललितपुर हो । यहाँ कांग्रेसको पहिलेदेखि नै जनमत राम्रो छ । माओवादी र अन्य दल पनि थपिँदा चिरीबाबु महर्जन हार्ने कुरा आउँदैन’, आङ्देम्बेले थपे ।
चिरीबाबुका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकार छन् । उनी अघिल्लो पटक कम मतले चिरीबाबुसँगै पराजित भएका थिए । यस पटक नयाँ मतदातामध्ये ५० देखि ६० प्रतिशत एमालेमा थपिएका उपाध्यक्ष ज्ञवालीको विश्लेषण छ ।
मतदाता थपिँदा ब्यञ्जनकारलाई जित्न सहज हुने उनले बताए । उनले ललितपुरमा जति बजेट थियो, त्यसअनुसार विकास निर्माणको काम हुन नसकेको एमालेको समीक्षा भएको पनि बताए ।
काठमाडौंपछि रणनीतिक महŒवको अर्को महानगरपालिका पोखरामा यस पटक नयाँ उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।
गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य र एमालेका कृष्ण थापा प्रमुखका दाबेदार हुन् । यी २ मध्ये थापा यसअघि पोखराको प्रमुख भइसकेका छन् । प्रदेश सांसदबाट राजीनामा दिएर प्रमुख पदको उम्मेदवार बनेका उनलाई जित्न एमालेको एकल मत नै पर्याप्त हुने ज्ञवाली बताउँछन् ।
‘हाम्रो मत पोखरामा पहिल्यैदेखि राम्रो हो । १४ हजारभन्दा बढी मत अघिल्लो पटक एमालेको थियो । यस पटक एमालेप्रति छुट्टै आकर्षण छ’, उनले भने, ‘गठबन्धनको दल कांग्रेसबाट बागी उम्मेदवार छ । त्यहाँ सहजै हामी जित्छौँ ।’
पोखरामा कांग्रेसका विमलबहादुर कार्की बागी उम्मेदवार छन् । उनी निर्वाचन अभियानमा होमिएका छन् । उनलाई १६ वैशाखमा पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । उनले कांग्रेसको मत काट्ने ज्ञवालीले बताए । तर, कांग्रेस सहमहामन्त्री आङ्देम्बे ज्ञवालीको दाबीलाई खण्डन गर्छन् । कांग्रेसको ५ प्रतिशत मत पनि कार्कीले नकाट्ने उनले बताए । पोखराको सर्वाङ्गीण विकास गर्न गठबन्धनबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको एजेन्डा ‘गज्जब’को भएको पनि उनले बताए । उनले भरतपुर र विराटनगर महानगरपालिकामा गठबन्धन दलहरूलाई निर्वाचत जित्न मुस्किल नहुने उल्लेख गरे ।
‘भरतपुरमा यस पटक नेकपा एस, जसपा र जनमोर्चाको मत थपिएको छ । पहिले कांग्रेस–माओवादी थियो र त्यहाँ प्रमुख पदकी उम्मेदवार रेणुजीले राम्रो काम गरेको चर्चा छ । यसले गर्दा हामी जित्छौँ । विराटनगरमा त कांग्रेस पहिले पनि राम्रो हो । जित्न समस्या छैन’, आङ्देम्बे भन्छन् ।
अघिल्लो पटक भरतपुरमा कांग्रेससँगको गठबन्धनमा माओवादीकी रेणु दाहालले निर्वाचन जितेकी थिइन् । विराटनगरमा कांग्रेसका भीम पराजुलीले निर्वाचन जितेका थिए । यस पटक त्यहाँ नागेश कोइराला प्रमुख पदका उम्मेदवार छन् । पारिवारिक पृष्ठभूमि राजनीतिक भएका कोइराला बौद्धिक युवा नेताको रूपमा पनि चिनिन्छन् । उनीसँग एमालेका सागर थापाले प्रतिस्पर्धा गर्दै छन् ।
भरतपुरमा रेणुसँग भने एमालेका विजय सुवेदीले प्रतिस्पर्धा गर्दै छन् । सुवेदी प्रदेश सांसदबाट राजीनामा दिएर प्रमुख पदमा प्रतिस्पर्धा गर्न लागेका हुन् । एमाले उपाध्यक्ष ज्ञवाली कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले कांग्रेसको मत काट्दा सुवेदीले निर्वाचन जित्ने बताउँछन् । उनका अनुसार विराटनगरमा पनि गठबन्धन दलहरूबीच अन्तरविरोध रहेकाले एमालेले निर्वाचन जित्ने आँकलन छ ।
उता, वीरगंजमा एमालेबाट प्रमुखका उम्मेदवार विजय सरावगीले सजिलै जित्ने ज्ञवाली बताउँछन् । उनका अनुसार वीरगंजमा सरावगीको उसै राम्रो अवस्था रहेको छ भने एमालेमा भित्रिइसकेपछिको माहोल अझ सुदृढ बनेको छ । तर, आङ्देम्बे भने जसपा र कांग्रेसको तालमेलले सरावगीलाई सजिलै जित्न नदिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्