सिकारीको पासोमा परी गम्भीर घाइते, न प्रहरीमा उजुरी पर्छ न आरोपी नै पक्राउ



महोत्तरी । सिकारीले थापेको पासोमा परेर दुर्घटनामा परिएला भनेर बर्दिबास–१ का ५५ वर्षीय पूर्णबहादुर बलाम्पाकीले कहिल्यै सोचेका पनि थिएनन्। तर, २९ वैशाख बिहान उनले नसोचेकै घटना भयो। घाँस काट्न बिहानैअटावे खोल्सीतिर निस्केका बलाम्पामाथि खोल्सीतिर लम्किएको केही क्षणमामै २ राउण्ड गोली लाग्यो। उनको तिघ्रामा गोलीको गहिरो चोट लागेको छ।

दुबै तिघ्रामा गोली लागेपछि उनी खोल्सीमै ढले, अत्याधिक रगत बगेकाले उठ्नै सकेनन्। निकैबेर घर नफर्किएपछि परिवारले खोजी गर्दा उनलाई अर्ध बेहोस अवस्थामा फेला पार्यो।

‘बुबाको दुबै खुट्टामा गोली लागेछ। भाईलाई फोन गर्नुभयो। हामी त्यहाँ पुग्दा रगत निक्कै बगेको रहेछ। त्यहाँबाट उठाएर बल्लतल्ल अस्पताल पुर्‍यायौँ ।’ बलाम्पाकी की कान्छी छोरी निरु बलाम्पाकीले भनिन्। घाँस काट्न जाने क्रममा सिकारीले थापेको पासोमा रहेको धागोमा टेक्दा गोली लागेको प्रहरीको पारम्भिक अनुसन्धानले पनि पुष्टि गरेको छ।

बलाम्पाकी परिवारका एक्लो भरोसा हुन्। परिवारका ५ जना उनकै भरोसामा छ। कृषि कर्मबाट पारिवार भरणपोषण गर्दै आएका बलाम्पाकी अहिले उपचारका लागि बिएण्डबी अस्पताल काठमाण्डौंमा उपचाररत छन्। उपचारमा केही खर्च नवनिर्वाचित नगरप्रमुख प्रल्हाद क्षेत्रीले सहयोग गरेको पीडित परिवारको भनाइ छ।

पीडित बलाम्पाकीको बयानअनुसार मकरलाल कटुवालले पासो थापेका हुन्। बन्दुक पड्किएको आवाज सुनेपछि कटवाल सिकार पर्‍यो कि भनेर हेर्न आएको र मान्छे पासोमा परेको देखेपछि घटनास्थलबाट फरार भएको पीडितको भनाइ छ।

पीडित परिवारले अहिलेसम्म मकरबहादुरविरुद्ध उजुरी भने दिएको छैन। सुरुमा बर्दिबास–१४ बस्ने मकरलालले नै पासो थापेको पीडित परिवारले दाबी गरेको पनि अहिले नचिनेको बताउँदै आएको छ।

‘अहिले सबैले निवेदन नदिनु भनेका छन्। ३५ दिनभित्र निवेदन दिने सल्लाह भएकोले त्यतिकै बसेको छौँ।’ पीडित बलाम्पाकीका दाजु मानबहादुर बलाम्पाकीले भने। पैसाको बलमा दोषीलाई बचाउन खोज्नु गलत भएको स्थानीय बताउँछन्। पीडक भनिएका कटुवालमाथि छानबिन गरी कारवाही गर्नका स्थानीयको माग छ।

अचम्मलाग्दो त कहाँनिर छ भने दोषी भनिएका मकरबहादुरलाई प्रहरीले पक्राउ गर्न नसके पनि मकरलालका परिवारले बलाम्पाकीको उपचारमा सहयोग गरिरहेका छन्। बरु दोषी भनिएका मकरबहादुरका बुबा दलबहादुर कटवाललाई प्रहरीले पक्राउ गरेर सोधुपछ गरेर छाडेका छ।

पीडित र पीडक पक्षबीच व्यवहारिक सम्बन्ध भए पनि वन्यजन्तु मार्न पासो थाप्नु पनि अपराधजन्य कार्य भएकाले कटुवाललाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न स्थानीयको माग छ। गोली लागेका बलाम्पाकी हिडडुल गर्न सक्ने अवस्थामा छैनन्। तर, सिकारीलाई बचाउने प्रयास भने भैइरहेको छ।

दोषी भनिएका मकरबहादुर कटवाल सागरनाथ वन परियोजनाका अस्थायी कर्मचारी भएको खुलेको छ। वनका कर्मचारी नै वन्यजन्तु मार्न लागि पर्नुले कर्मचारीमाथि नै गम्भीर प्रश्न खडा भएको छ।

प्रतिक्रिया दिनुहोस्