भारतीय नागरिक जनप्रतिनिधि !



  • विशाल बस्नेत

महोत्तरी । स्थानीय तहको ३० वैशाखमा सम्पन्न निर्वाचनमा मटिहानी नगरपालिका– ६ को वडा सदस्यमा एक भारतीय नागरिक निर्वाचित भएका पाइएको छ । उक्त वडाको वडा सदस्य पदमा रामलखन पञ्जियार निर्वाचित भएका थिए ।
मटिहानीस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका पञ्जियारले ५०७ मत प्राप्त गरी विजय भएका हुन् ।
निर्वाचित वडा सदस्य पञ्जियार कभारतको बिहार प्रान्तको सितामढी जिल्ला चरौत प्रखण्ड कुप्री थाना चरौत डाकबर्मा घर भएका जामुन पञ्जियारका छोरा भएका विभिन्न तथ्यले प्रमाणित गरेका छन् । तर, उनले मटिहानी गाविस– २ साविक ठेगाना देखाई नेपाली नागरिकताको प्रमाणपत्र पनि लिएका पाइएको छ ।
महोत्तरी जिल्ला प्रसाशन कार्यालयबाट ३० फागुन, २०६३ मा जारी भएको उनको नागरिकताको प्रमाणपत्र नं. १८३००८-२२८ हो । सि. नं. २२ को नागरिकता प्रमाणपत्रमा उनको जन्म मिति ४ माघ २०४१ उल्लेख छ ।
अर्कातर्फ भारतीय निर्वाचनको भोटर लिस्टको क्र.सं. ६४५ मा बुबाको नाम जामुन पञ्जियार, निर्वाचकको नाम रामलखन पञ्जियार, गृह सङ्ख्या १९६ सहित उनको भारतीय विवरण फेला परेको छ ।
अन्य देशको नागरिकता कायम रहेसम्म नेपाली नागरिकता लिन कानुनले रोक लगाएको छ । नेपाली नागरिकता लिनुभन्दा अगाडि भारतीय नागरिकता परित्याग गर्नुपर्नेमा परित्याग गरिएको पनि देखिएको छैन ।
प्राप्त विवरणअनुसार उनी अहिले पनि नेपाल–भारत दुवै देशका नागरिक हुन् । पञ्जियारका हजुरबुबादेखि आमाबुबा, भाइसमेतको नाम भारतीय मतदाता सूचीमा भएको खुलेको छ ।
नेपालको नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झूटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्ने व्यवस्था छ ।
सोही ऐनको दफा २१ मा कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झूटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा १ वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दहालले यसबारेमा अहिलेसम्म कुनै उजुरी नपरेको जनाए । ‘उजुरी परे कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ’, दहालले भने ।

नेपाली नै हुन : नगरप्रमुख
उता, नगरप्रमुख हरि मण्डलले भने पञ्जियार विगतमा भारतीय नागरिक थिए भने पनि उनी अहिले नेपाली नागरिक भएका बताए । जिल्ला समन्वय समितिका सदस्यसमेत रहिसकेका उनले भारतीय नागरिकता त्यागेर पूर्णतः नेपाली नागरिक भएका दाबी गरे । प्रमुख मण्डलले भने, ‘मेरो प्यानलको भएको हुनाले उसलाई बदनाम मात्र गर्न खोजिएको हो ।’
पञ्जियारको नागरिकता नेपालमा कसरी बन्यो भन्ने अहिले महोत्तरीमा चर्चाको विषय बनेको छ । नेपाली नागरिकता बनाउन कसले सिफारिस दियो र उनी को हुन् ? जानकारी नै नलिईकन नागरिकता बनेकामा स्थानीय सरकारमाथि नै प्रश्न तेर्सिएको छ ।

प्रतिक्रिया दिनुहोस्