कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते



काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । वडा नम्बर–८ लठुवाकी ५४ वर्षीया विष्णा बोहोरा बाघको आक्रमणबाट घाइते भएकी हुन् । उनको मुख, हात र टाउकोमा बाघले आक्रमण गरेको छ ।

सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी लक्ष्मणबहादुर शाहीले बताएका छन् । बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने बाघ पनि घाइते भएको बताइएको छ ।

घाइते बाघको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई खबर गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । घाइते बाघले अरूलाई आक्रमण गर्न सक्ने भएकाले लठुवा सामुदायिक वनमा मान्छेलाई जान रोक लगाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्