लिङ्देनले बुझाए प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र (पूर्णपाठसहित)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित राप्रपाले ज्ञापनपत्र बुझाएको हो ।

२२ बुँदे ज्ञापनपत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र सम्बृद्धिको निमित्त प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्र बुझाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीलगायतका नेताहरु बालुवाटार पुगेका थिए ।

राप्रपाले सरकार समक्ष पेश गरेका माग :

 

१)     हरेक वर्ष मलको अभाव हुने गरेको र यस वर्ष अहिलेसम्म पनि किसानले मल नपाएकाले किसानलाई तत्काल मल, विउ उपलव्ध गराइयोस् र समयमा मल आपूर्ति व्यवस्था गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरियोस् ।

२)     महँगी तथा कालोबजारी नियन्त्रण गरियोस् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भईरहेको श्रृंखलावद्ध मुल्यवृद्धि अविलम्ब रोकियोस् ।

३)     भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गरियोस् । राज्यकोषबाट संचालित सवै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गरियोस् ।

४)     राजसंस्थासहित सवै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरियोस् ।

५)     केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखी देशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पु¥याउने प्रादेशिक तह खारेज गरियोस् ।

६)     मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराइयोस् ।

७)     संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गरियोस् ।

८)     आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय वनाउनका लागि निष्पक्ष चुनावी सरकार गठन गरियोस् ।

९)     नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति प्रतिकूल हुने कुनै पनि सम्झौता नगरियोस् ।

१०)     इम्वोस्ड नम्वर प्लेटसँग भाषाको कुरा, सुरक्षाको कुरा, लागतको कुरा, कमिशन र भ्रष्टाचारको कुरा समेत जोडिएकाले यसको खारेज गरियोस । गर्नैपर्ने भए देवनागरी लिपिमा नम्वर प्लेट राख्ने व्यवस्था गरियोस् ।

११)     नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गरियोस् । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने समस्या तत्काल समाधान गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउने व्यवस्था सुनिश्चित गरियोस् ।

१२)     भूमिहीन तथा घरबारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गरियोस् ।

१३)   बेरोजगारी समस्याको दीर्घकालीन समाधान गरियोस् । यस क्रममाः कम्तिमा देहायका कार्ययोजना कार्यान्वयन गरियोस्ः
क) वर्षमा कम्तिमा पाँच लाख रोजगारी श्रृजना गर्ने गरी दीर्घकालीन आर्थिक विकास योजना सञ्चालन गरियोस् ।
ख) कम्तिमा एक परिवार एक रोजगार कार्यक्रम कार्यान्वयन गरियोस् ।
 ग) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गराइयोस् ।

१४)     कहाली लाग्दो व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन कायम गरियोस् । आयातमुखी अर्थतन्त्रमा सुधार गरी राष्ट्रिय उत्पादन र आय वृद्धिका कार्यक्रम तत्काल सञ्चालन गरियोस् ।

१५)    राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिन सार्वजनिक विदा दिइयोस् ।

१६)     देशभरी रहेका ऐतिहासिक व्यक्तिहरुका भत्काइएका शासकहरुको पुनर्निर्माण तथा संरक्षण गरियोस् ।

१७)    प्रशासन, न्यायालय, शैक्षिक संस्था, कुटनीतिक नियोग, संवैधानिक अङ्गजस्ता निकायहरूलाई राजनीतिक हस्तक्षेप र प्रभाववाट  मुक्त राख्न तथा पार्टीगत आधारमा भागबण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्यको अन्त्य गरियोस् ।

१८)     अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन कुटनीतिक पहल गरियोस् ।

१९)     महिला, वालवालिका तथा दलित समुदायविरुद्ध हुने सवै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशक्त कदम चालियोस् ।

२०)     विदेशमा रहेका नेपाली नागरिकहरुले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गरियोस् ।

२१)    स्थानीय तहमा लगाएका अव्यावहारिक करहरू तथा तीन तहका सरकारबाट लगाइएका दोहोरो कर तत्काल खारेज गरियोस् ।

२२)    वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गरियोस् ।

 

प्रतिक्रिया दिनुहोस्