कसरी सुल्झाउँलान् नेम्बाङले चुनौतीका चाङ ?



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र नवनिर्वाचित अध्यक्ष पङ्कज नेम्बाङ कुनै समय एउटा कित्तामा थिए । ४ वर्ष अगाडि शेर्पाको प्यानलबाटै वरिष्ठ उपाध्यक्ष निर्वाचित नेम्बाङले ४ वर्षपछि शेर्पालाई नै हराएर अध्यक्षमा निर्वाचित भएका छन् ।

सत्य र निष्ठामा अडिग भएर विद्रोह गर्दै आएको दाबी गर्ने नेम्बाङको काँधमा अब नेपाली फुटबलका विविध समस्या समाधान गर्ने मात्र होइन, आफैँले उठाएको मुद्दालाई स्थापित गर्ने चुनौती पनि थपिएको छ । एन्फामा अहिले गहिरो आर्थिक सङ्कट छ । यो आर्थिक सङ्कट समाधान नै वर्तमान कार्यसमितिको पहिलो चुनौती हो ।

संस्थाको संरचनालाई तयार गरेर माउ संस्था विश्व फुटबल महासंघ ( फिफा)लाई आर्थिक अनुशासनमा विश्वास नदिलाएसम्म यो समस्या समाधान हुने कुनै सम्भावना छैन ।

फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद नेम्बाङ नेतृत्वका सामु सबैभन्दा ठूलो चुनौती बनेको छ पछिल्लो समय । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको उपस्थितिसँगै नेपाली फुटबलको प्रदर्शन राम्रो भएको कुरा नकार्न मिल्दैन । यसका बाबजुद अल्मुताइरीको प्रस्तुति र खेलाडी तथा अन्यसँगको व्यवहार नेपाली फुटबलका लागि समस्याको विषय बनेको थियो ।

प्रशिक्षक पद सम्हालेको पहिलो प्रतियोगिताको दौरान ‘यसअघिका राष्ट्रिय टोलीका सबै खेलाडी विदेश घुम्नका लागि जाने गरेका थिए’ भन्ने अभिव्यक्ति दिएपछि अल्मुताइरी विवादमा मात्र परेका थिएनन्, यसपछि नेम्बाङको यात्राले पनि नयाँ मोड लिएको थियो ।

निर्वाचित भएको केही समयपछि नै आर्थिक अनुशासन नभएको भन्दै नेम्बाङले शेर्पाको विरुद्धमा आवाज उठाए पनि अल्मुताइरीसँगको विवाद उनका लागि एउटा ‘टर्निङ प्वाइन्ट’ बनेको थियो । अल्मुताइरीको भनाइमा नेम्बाङले आपत्ति जनाएपछि अध्यक्ष शेर्पाले यी २ जनाको दूरी बढाउने तथा अल्मुताइरीका फ्यानलाई नेम्बाङप्रति नकारात्मक बनाउने नीति लिएका थिए । त्यही नीति शेर्पाका लागि सबैभन्दा प्रत्युत्पादक बन्यो ।

कर्मा अल्मुताइरीको पक्षमा उभिएपछि फुटबल संघकै धेरै जना पङ्कजको पक्षमा खुलेका थिए । विगतमा एउटै समूहमा रहेका किरण राई, वसन्त अर्याल, किशोर राईलगायतको एउटा ठूलो समूह कर्माको विरुद्धमा थियो । त्यसपछि टिकट सच्याएर आर्थिक हिनामिना गरेको आवाज एन्फामा उठेपछि कर्मा कार्यसमितिमा अल्पमतमा पुगेका थिए । वित्तीय निर्देशक निरञ्जन शाहको स्क्यान्डल शेर्पा कार्यकालको अर्को खतरा थियो ।

यीलगायत साना-ठूला अनेक विवादमा परेको एन्फाको छवि सुधार्न आर्थिक अनुशासन कायम राख्नु नेम्बाङको एउटा प्रमुख चुनौती हो । अब उनी आफू मात्र अनुशासित भएर पुग्ने छैन । सम्पूर्ण फुटबल परिवारलाई आर्थिक अनुशासनमा राख्नु उनका लागि अर्को चुनौती हो ।

अल्मुताइरीको स्वभावलाई साथ दिएका कर्मा छिरिङका लागि त्यो नै नेतृत्वबाट हात धुनुको एउटा प्रमुख कारण त बन्यो तर अब पङ्कजका लागि यो समस्या समाधान थप चुनौती पनि हो । एकातर्फ अल्मुताइरीको आममानिसमा लोकप्रियता छ । अर्कातर्फ उनी र ११ जना खेलाडीबीचको समस्या हेर्ने हो भने अल्मुताइरीलाई फेरि टोलीको जिम्मेवारी दिनु थप घातक पनि हुन सक्नेछ ।

नेम्बाङले छानबिन कमिटीको रिपोर्टअनुसार चल्ने बताइसकेका छन् । यस समस्याको केही दिनमै टुङ्गो लाग्ने आँकलन पनि छ । तर, समस्या कसरी र कुन रूपमा समाधानतर्फ अघि बढ्छ भन्ने कुराले विवादको जरैदेखि समाधान भयो कि भएन भन्ने निक्र्योल हुनेछ ।

सबैभन्दा ठूलो समस्या भनेको फुटबलभित्रका विभिन्न गुट र उपगुटको समन्वय गर्दै नेम्बाङ अध्यक्ष बनेका छन् । कार्यसमितिमा उनका केही निकट व्यक्ति पराजित भएका छन् । उनको अभियानमा सुरुदेखि नै साथ दिएका निरोज खड्गी र बिन्द्रा देवानबिनाको कार्यसमिति तयार भएको छ । भिन्न समूहबीच समन्वय गरेर नेपाली फुटबलको रथ हाँक्नु फलामका चिउरा चपाउनु बराबर हुन पनि सक्छ नेम्बाङका लागि ।

ए डिभिजन क्लब र नेपालका कर्पोरेट हाउसका बीचमा बढेको विवाद पनि ठूलै चुनौती बनेको छ । फुटबलका मूल धार मानिएका क्लबहरूलाई सन्तुष्ट बनाएर कर्पोरेट हाउसको सहयोग यथावत् राख्न नेम्बाङले निकै चातुर्य देखाउनुपर्नेछ । यी चुनौतीका बीच निष्ठा र आदर्शमा अडिग रहेर, विधि विधानभित्र रही एन्फालाई विवादरहित र सशक्त बनाउनुपर्ने अहं दायित्व नेम्बाङमाथि आएको छ ।

प्रतिक्रिया दिनुहोस्