अफगानिस्तानमा भारतीय दूतावास फेरि खुल्यो



एजेन्सी । भारतले अफगानिस्तानको राजधानी काबुलमा आफ्नो राजदूतावास पुनः सञ्चालनमा ल्याएको छ । तालिबानीहरु नेतृत्वमा आएपछि बन्द भएको दूतावास भारतले पुनः सञ्चालनमा ल्याएको हो ।

बुधबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएर मानवीय क्षति भएपछि भारतले दूतावास सञ्चालनमा ल्याएको छ भने राहत वितरण पनि अघि बढाएको छ ।

भारतीय अधिकारीहरुका अनुसार भारतबाट लगिएको पहिलो खेप राहत प्रभावित क्षेत्रमा पुगिसकेको छ । बुधबारको भूकम्पमा अफगानिस्तानमा कम्तीमा १ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ ।

अफगानिस्तानमा तालिबानीहरुले सत्ता नियन्त्रणमा लिएपछि विश्वका अधिकांश देशले आफ्ना दूतावास बन्द गरेका थिए । भारतले पछिल्लो पटक जुन २ मा तालिबानी अधिकारीहरुसँग छलफल गरेको थियो ।

सुरक्षाको प्रत्याभूति हुने भएपछि भारत पुनः दूतावास खोल्न तयार भएको बताइएको छ । तालिबानीको सत्ता कब्जापछि बन्द भएकामध्ये हालसम्म भारतसहित १५ देशले पुनः दूतावास सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्