एसएसपी बढुवा : विवादित अधिकृत १ नम्बरमा, बिष्टमाथि अन्याय !



काठमाडौं । शनिबार लामो रस्साकस्सीबीच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा निस्कियो। बढुवामा यस्तो देखियो कि यतिबेला एसएसपी नभई प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहको बढुवा हुँदै छ।

यस्तो हुनुको कारण थियो– रिक्त पद थोरै, आकाङ्क्षी धेरै। यस्तो अवस्था रहँदारहँदै पनि सरकारले ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई एसएसपी बढुवामा सिफारिस गरेको हो। त्यसमा आफ्नो ब्याचबाट पहिलो नम्बरमा सिद्धिविक्रम शाह परेका छन्। उनको नाम दोस्रोमा छ।

उनी १८ चैत २०५४ मा प्रहरीमा भर्ना भएका हुन् । जिल्ला प्रहरी परिसर, ललितपुरमा कार्यरत शाह सूचीमा आफ्नो ब्याचबाट १ नम्बरमा बढुवा भएसँगै प्रहरी नेतृत्वको चर्को आलोचना भएको छ। यसअघि नायव उपरीक्षक (डीएसपी)बाट एसपी हुँदा शाह १ नम्बरमै थिए, जतिबेला शाह नेकपा (माओवादी केन्द्र)का नेता तत्कालीन गृहमन्त्री जनार्दन शर्माको जोडबलमा १ नम्बरमा आएका हुन्।

उनी अहिले पनि १ नम्बरमा एसएसपीमा बढुवा हुनुपर्ने भन्दै साम, दाम र दण्ड, भेदको नीतिमा अघि बढेका थिए, जसले गर्दा १ नम्बरमै आउन सफल भए । एसपी शाह उनै शर्मालाई रिझाएर १ नम्बरमै बढुवा भएको स्रोत बताउँछ । शर्मा र शाह एउटै जिल्ला रुकुमका समेत हुन् ।

विवादित शाहलाई आईजीको समेत सहयोग

शाहमाथि कमाण्डिङ क्षमता कमजोर रहेको आरोपसमेत लाग्ने गर्छ । प्रहरी नेतृत्व धीरजप्रताप सिंहले अडान लिन नसक्दा एसपी शाहलाई १ नम्बरबाट रोक्न कसैले आँट नै गरेनन् । शाहलाई जनार्दन शर्माको मात्र सहयोग नभएर आईजी सिंहको समेत कृपा रहेको स्रोत बताउँछ ।

आईजी सिंह र एसपी शाह नातेदार पनि हुन् । आईजी सिंहकी आमा र एसपी शाहका आमा दिदीबहिनी हुन्। आमा दिदीबहिनी भएपछि आईजी सिंहले विवादित अधिकृत शाहलाई १ नम्बर बढुवामा नरोकेका प्रहरी प्रधान कार्यालय स्रोत दाबी गर्छ।

त्यति मात्र होइन, शाह एसपी हुँदा विवादमा तानिएका प्रहरी अधिकृत हुन्। उनी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत रहँदा एक पत्रकारलाई लागुऔषधको नक्कली कारोबारमा फसाएपछि चर्को विवादमा परेर हेडक्वार्टर तानिएका थिए।

रौतहट काण्डमा गठित छानबिन समितिले शाहले पत्रकार फसाउन खोजेको रिपोर्ट दिएपछि बढुवामा असर गर्ने बुझिएको थियो । कारबाहीको सिफारिसमा परेका व्यक्तिलाई १ नम्बरमा बढुवा गरिँदा नियम, कानुनको धज्जी उड्नेतर्फ प्रहरी नेतृत्वको ध्यान जानपर्ने एक पूर्वप्रहरी अधिकृत बताउँछन्।

‘अर्थमन्त्री पदबाट भर्खरै राजीनामा दिएका जनार्दन शर्माले शाहलाई १ नम्बर बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणमार्फत दबाब दिएका कारण आईजी सिंह निरीह हुनुको विकल्प रहेन, त्यसमा शाह आफ्नो पनि नातेदार।

त्यसपछि सिंहले शक्तिकेन्द्रमार्फत जे सूची आयो, त्यसैलाई सदर गरिदिए’, बढुवालाई नजिकबाट नियालिरहेका एक सुरक्षा जानकार भन्छन्।

प्रहरी प्रधान कार्यालयले रौतहटबाट तानेपछि नेता जनार्दन शर्माकै जोडबलमा जिल्ला प्रहरी परिसर, ललितपुर गएका हुन् शाह। ललितपुर परिसर र शर्माको घरको दूरी १ किलोमिटर मात्र फरकमा छ।शाहको बढुवाले उनकै ब्याचमा असन्तुष्टि पैदा भएको छ।

कारबाहीको सिफारिसमा परेको व्यक्ति शक्तिकेन्द्रमार्फत दबाब दिएर १ नम्बरमा बढुवा हुनुले आईजीले राम्रा अधिकृतहरूलाई न्याय गर्न नसकेको आरोप छ। एसएसपी बढुवा सिफारिसमा ठूलो आर्थिक चलखेल भएको पाइएको स्रोतको दाबी छ।

कारबाही भोगेकालाई बढुवा सूचीमा अगाडि राखेको भन्दै असन्तुष्टहरू गृहमन्त्री खाण र सङ्गठन प्रमुख सिंहप्रति आक्रोशित बनेका छन् ।

एसपी बिष्टमाथि आईजीको अन्याय !

एसएसपी बढुवाको प्रतिस्पर्धामा २०५१ सालमा भर्ना भएका दिल्लीराज बिष्ट सिनियर एसपी भएकाले एक नम्बरमा थिए । उनी १९ फागुन २०७२ मा एसपीमा बढुवा भएका अधिकृत हुन्।

जिल्ला प्रहरी कार्यालय, कंचनपुरमा हुँदा निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा बेकार तानिएका बिष्टमाथि लागेको निलम्बन फुकुवा भएपछि उनलाई सरकारले १ नम्बरमा बढुवा गर्न सक्ने धेरैको अनुमान थियो।

आईजी सिंहले बेलाबेलामा शक्तिकेन्द्रमार्फत बढुवाका लागि दबाब दिने प्रहरी कर्मचारीहरूको नाम टिपेर राख्ने र ‘एक्सन’मा जाने बताउने गर्थे । तर, उनको भनाइ ‘खाली कागज’को पन्ना जस्तै साबित भएको छ।

के शक्तिकेन्द्रमार्फत दबाब दिन लगाएर पछाडि परेका हुन् त बिष्ट ? सिनियर एसपी रहेका बिष्टलाई कारबाही गरेर सिंहले एसएसपी बढुवामा पछाडि पारेका हुन् त ? ‘त्यस्तो कदापि होइन, राजनीतिक हस्तक्षेप थेग्न नसकेर बिष्टलाई पछाडि पारिएको हो’, एक प्रहरी अधिकृत भन्छन् ।

बढुवा सूचीमा १८औँ नम्बरमा छन् बिष्ट। यता, बिष्टभन्दा २ वर्षपछि एसपीमा बढुवा भएका अधिकृतलाई भने सरकारले १ नम्बरमा बढुवा गरेको छ। १९ असार २०७४ मा एसपी भएका गणेश चन्द १ नम्बरमा बढुवा भएका हुन् ।

एसपी चन्द पनि २०५१ सालकै ब्याची हुन् । त्यसैले चन्द पनि एसएसपी बढुवाका लागि पहिलो नम्बरकै लागि स्वाभाविक दाबेदार हुन् । वास्तवमै उनलाई भने केही हदसम्म न्याय मिलेको छ । उनीका ब्याचीहरू प्रहरी नायव महानिरीक्षक (डीआईजी) भइसकेका छन्।

एसएसपी बढुवामा कोको परे ?
१ नम्बरमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी रहेका छन् ।

त्यस्तै, जीवनकुमार श्रेष्ठ (क), हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर वि.क., ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया एसएसपी बढुवामा सिफारिस भएका छन्।

यसैगरी माधवप्रसाद श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री (जी.सी), दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे पनि एसएसपी बढुवाका लागि सिफारिस भएका छन्।

एसएसपी बढुवा सिफारिस हुनेमा किसनसिंह थापा, सुदर्शन कोइराला, दीपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मा दास, लोकेन्द्र श्रेष्ठ, शारदाप्रसाद चौधरी पनि छन्।

पछिल्लो ब्याचबाट शून्य
पछिल्लो ब्याच अर्थात् २०५६ को टोलीसमेत यस पटक एसएसपी बढुवाका लागि लागिपरेको थियो। तर, प्रहरी नेतृत्वले अडान लिँदा यस टोलीबाट १ जना पनि एसएसपी हुन पाएनन्।

राष्ट्रिय अनुसन्धान विभाग (राअवि)बाट प्रहरीमा आएका अधिकृतलाई बढुवा गर्न नहुने भन्दै २०५६ सालमा निरीक्षकमा नाम निकालेका टोलीहरू बढुवाका लागि दौडधुप गरे पनि बढुवा हुन सकेनन्।

बढुवाका लागि दौडमा एसपीहरू विश्व अधिकारी, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, भूपेन्द्र खत्री, सोमेन्द्रसिंह राठौर, सविन प्रधान, दिनेश मैनाली, बेलबहादुर पाण्डेलगायत थिए।

यीमध्ये खत्रीले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कामार्फत लबिङ गरेका थिए भने भट्टराईले गृहमन्त्रीपत्नी मन्जु खाण, मैनालीले बालुवाटार, राठौरले प्रचण्डमार्फत लबिङ गरेका थिए।

यस पटकको एसएसपी बढुवाका लागि पावर र पहुँच लगाएर यो टोलीका केही एसपीहरूले अगाडि आउन अनेक हथकण्डा अपनाएर शक्तिकेन्द्रमार्फत प्रहरी नेतृत्वलाई दबाब दिएका थिए।

तर, आईजी सिंहले अडान लिँदा उनीहरूको योजना विफल भएको छ। सबैभन्दा बढी एसपी खत्री बढुवाका लागि लागिपरेका थिए।

उपसभापति खड्कामार्फत आफू जसरी पनि एसएसपीमा बढुवा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका थिए । तर, राजनीतिक दबाब आईजी सिंहको अडानका अगाडि उनी असफल भए।

एसएसपी बढुवामा सिनियर ब्याचका अधिकारीहरूलाई पाखा लगाउँदै ‘जम्प’ गर्ने परम्परा आईजी सिंहले तोडेपछि यसको सर्वत्र चर्चा छ । तर, यही परम्परालाई एसपी बढुवामा कायम राख्न सक्छन्/सक्दैनन्, त्यो हेर्न बाँकी छ।

एसपी बढुवामा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख व्यक्तिगत सुरक्षा अधिकृत कोमलविक्रम शाह १ नम्बरमा बढुवा हुन लागिपरेका छन् ।

डीएसपी बढुवामा २५औँ नम्बरमा रहेका शाहलाई देउवाको साथ रहे पनि आईजी सिंहले अडान लिन सक्छन् कि सक्दैनन् ? भन्न नसकिने प्रहरी स्रोत बताउँछ।

त्यति मात्र होइन, शाहभन्दा सिनियर टोलीका अधिकृतहरू अझै डीएसपी नै छन्। उनीहरूलाई पाखा लगाएर शाहले आफू र आफ्नो ब्याचबाट कोको बढुवा हुने भनेर सूची नै तयार बनाएर राखेको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्