ट्राफिक कमान्डर मीरा



काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घन जस्ता कारण उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल एवं चुनौतीपूर्ण बन्दै गएको हो।

यस्तो अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी महिला ट्राफिक प्रहरीको काँधमा छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा छन् प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरी। आकाशे रङको नीलो सर्ट, गाढा नीलो पाइन्ट, सेतो पन्जा, नीलो टाई र कालो जुत्तामा सजिएर डीआईजी चौधरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सडकमा निस्किरहेकी हुन्छिन्, सेतो र नीलो रङ मिसिएको तारे गाडीमा।

हरेक दिन बिहान कार्यालयमा पुगेर आफू मातहतका ट्राफिक प्रहरीहरूलाई निर्देशन दिँदै कामको सुरुवात गर्छिन् उनी । त्यति मात्र होइन, साँझसम्म कार्यालयमा बसेर कहाँकहाँ के भइरहेको छ, रिपोर्टिङसमेत मागिरहन्छिन्। करिब १ हजार ६५० ट्राफिक प्रहरीहरूको नेतृत्व सम्हालेकी डीआईजी चौधरी कडा र मिजासिलो स्वभावकी प्रहरी अधिकृत हुन्।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन चौधरीको नेतृत्वमा समूह–समूहमा ट्राफिक प्रहरीहरूले काम गरिरहेका छन्। नेपाल प्रहरी सङ्गठनमा महिलालाई हत्तपत्त कमान्ड सम्हाल्ने अवसर दिने गरिएको छैन। तर, प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले चौधरीको विगतको कामको मूल्याङ्कन गरेर उपत्यकाको ट्राफिक कमान्डको अवसर दिएका हुन्।

गत १९ असारमा आईजी सिंहले काज सरुवा गरेर चौधरीलाई ट्राफिक कार्यालयमा पठाएका हुन्। यतिबेला उपत्यकाका ३ वटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको समग्र ट्राफिक व्यवस्थापनको जिम्मा चौधरीको काँधमा छ। ट्राफिक व्यवस्थापन आफैँमा चुनौतीपूर्ण जिम्मेवारी हो । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सोचेजस्तो सहज छैन। तर, डीआईजी चौधरी भने उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सकिने बताउँछिन् ।

अझ नेतृत्व सम्हाल्न त क्षमता पनि चाहिन्छ। आफू मातहतका कर्मचारी परिचालन गरेर मात्र पुग्दैन, राजनीतिक र सामाजिक क्षेत्रसँग उत्तिकै समन्वय गर्नुपर्छ । यी तमाम चुनौतीका बाबजुद ट्राफिकको कमान्ड सम्हाल्न पाउँदा डीआईजी चौधरी उत्साहित छन्, हरेस भने खाएकी छैनन्। बरु जिम्मेवारीमा खरो उत्रिएर उनले महिलाहरू पनि कम हुँदैनन् भन्ने सन्देश दिइरहेकी छन् उनले।

उनी महिला भएकै कारण उपत्यकाको ट्राफिक व्यवस्थापनमा काम गर्न गाह्रो हुने अनुमान गरिए पनि हक्की स्वभावकी चौधरी हरेक दिन सडक–सडकमा निस्किएर ट्राफिक व्यवस्थापनबारे बुझिरहेकी हुन्छिन्।

ट्राफिक व्यवस्थापनका लागि चौधरीले सम्बन्धित निकायका अधिकारीहरूसँग समेत भेट्दै छलफल गर्दै आइरहेकी छन् । उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनुपर्नेमा उनको जोड छ। त्यसका लागि सरोकारवाला निकायको सहयोगमा ‘अन्डरग्राउन्ड’भित्रका संरचना हटाउनुपर्ने डीआईजी चौधरी बताउँछिन्। सवारी पार्किङ गर्ने ‘अन्डरग्राउन्ड’भित्र डिस्को, शो रुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत संरचना बनाउनाले उपत्यकाको ट्राफिक व्यवस्थापनमा असहजता आएको चौधरीको बुझाइ छ।

‘सडकमा पार्किङ भएका सवारी साधन अन्डरग्राउन्डमा लगेर पार्किङ गर्दा सवारी व्यवस्थापनमा सहयोग पुग्नेछ, हामी सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउन्ड पार्किङलाई व्यवस्थित गर्न लागिपरेका छौँ’, उनले भनिन्। उनी थप्छिन्, ‘जथाभावी रूपमा पार्किङ भएका सवारी साधनलाई सम्बन्धित निकायको सहकार्यमा व्यवस्थित गर्ने कुरामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग पनि छलफल भएको छ। उहाँ पनि यस विषयमा सकारात्मक हुनुहुन्छ ।’

त्यस्तै, उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने, समयानुकूल ट्राफिक सङ्गठन परिवर्तन गर्दै लैजानु, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने मूल्य र मान्यताअनुसार काम गर्नुपर्नेमा चौधरीको विशेष चासो छ।

ट्राफिक प्रहरीले फुटपाथ व्यवस्थापन, ट्राफिक प्रहरीको व्यवहार तथा आचरण सुधारका लागि ट्राफिक प्रहरीलाई अनुशासनसम्बन्धी कक्षा, काठमाडौं उपत्यकाभित्र भत्किएका खाल्डाखुल्डी मर्मत सम्भारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, लेन अनुशासनलाई कडाइ गरिने तथा हर्न निषेधलाई थप कडाइ गर्ने कार्य अघि बढेको चौधरीको दाबी छ।

उनले जानाजान ट्राफिक नियम उल्लङ्घन गर्ने र जरिमाना तिर्ने परम्परा अन्त्यको पहलसमेत थालेकी छन् । कारबाहीमा परेका सवारी चालक अनुमतिपत्रको समेत तथ्याङ्क लिएर दोहोरो सवारी चालक अनुमतिपत्र बनाउने चालक उपर कारबाही हुने डीआईजी चौधरीले बताइन्।

‘ट्राफिक प्रहरी भनेको सडकमा बसेर जरिमाना काट्ने होइन, ट्राफिक व्यवस्थापन र नियम पालना गराउने हो, हेरौँ कतिसम्म सफल हुन सकिन्छ’, डीआईजी चौधरीले द नेपालटपसँगको कुराकानीमा भनिन्। त्यस्तै, उनले सम्पूर्ण सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्नसमेत आग्रह गरेकी छन्।

उनी भन्छिन्, ‘सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले नियम पालना गरे÷नगरेको विषयमा समेत अनुगमन गरिरहेको छ।’ ट्राफिक कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप राम्रो बनाउनका लागि २२ स्थानमा २४ घन्टे ड्युटी, ३२६ स्थानमा अस्थायी ड्युटी, ९३ स्थानमा पिक आवर ड्युटी, २६ वटा मोबाइल कारबाही टोली, ४० स्थानमा दैनिक ३ घन्टा सवारी चेकिङ, ३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेकिङको व्यवस्था मिलाएको छ।

पछिल्लो समय ट्राफिकले आफू चढेको सवारी साधनबाट उपत्यकाको सवारी व्यवस्थापन, बडिवन क्यामरा, ड्रोन क्यामरामार्फत सवारी साधन व्यवस्थापन गर्दै आएको छ।

चौधरीको बारामा अनुसन्धान क्षमताको अग्निपरीक्षा
यसअघि प्रहरी उपरीक्षक (एसपी) हुँदा बारा जिल्लाको इन्चार्ज भएर काम गर्दा पनि चौधरीको प्रशंसा भएको थियो, जतिबेला उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गरेकी थिइन् । चौधरी बारामा सरुवा भएर गएसँगै धेरैबाट उनको अनुसन्धान क्षमताको अग्निपरीक्षा ‘बजनी डबल मर्डर केस’ हुने टिप्पणी गरियो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट बारा गएकी उनको हकमा सर्वसाधारणको अपेक्षा स्वाभाविक थियो । १६ मङ्सिर २०७४ को मध्यरातमा जीतपुर–सिमरा उपमहानगरपालिका– ३ बजनीमा कृषक दम्पत्ती दीपकराज सुवेदी र दीपा सुवेदीको निर्मम हत्या भएको थियो । मीराको कमान्डमा खटिएको प्रहरी टोलीले जेठको पहिलो साता बजनी हत्याकान्डको गुत्थी सुल्झायो ।

हत्यामा संलग्न आरोपी पक्राउ गर्न मीराको टोली सफल भयो । त्यतिबेला अपराधका आरोपी खुलेआम घुम्ने बाराको ‘बिहारी शैली’ मीरा पुगेपछि बन्द जस्तै भयो । भूमिगत समूह र तस्करी तुलनात्मक रूपमा रोकिएको थियो ।

‘अन्डरग्राउन्ड’ पार्किङमा नगर प्रमुखको चासो
‘अन्डरग्राउन्ड’ पार्किङको विषयमा महानगरका प्रमुख साहले समेत चासो देखाएका छन्। शुक्रबार मेट्रो ट्राफिक एफएमको दशौँ वार्षिक उत्सवमा बोल्दै शाहले ‘अन्डरग्राउन्ड’ पार्किङको विषयमा सूचना नै निकालेको बताए।

‘जति पनि नक्सा पाससहितको अन्डरग्राउन्ड घरहरू छन्, सबै घरहरूको अनुगमन गरिनेछ’, प्रमुख साहले उक्त कार्यक्रममा भने, ‘पार्किङका लागि भनेर नक्सा पास गरिएका घरहरूमा व्यापार, विजनेस गरिएको छ भने तत्काल महानगरले एक्सन लिनेछ ।’

ट्राफिक प्रहरीले समेत पार्किङको समस्या उठाएको हुँदा तत्काल त्यस्ता घरहरूमा पुगेर महानगरले खाली गराउन निर्देशन दिने उनले बताए । उनले थपे, ‘नटेरेको अवस्थामा नेपाल प्रहरीको सहयोग लिएर खाली गराउनेछौँ ।’

‘अन्डरग्राउन्ड’ पार्किङको विषय यसअघि नै द नेपालटपले उठाएको थियो । ‘पार्किङमा अन्डरग्राउन्ड व्यापार’ शीर्षकमा समाचार प्रकाशन भएपछि महानगरपालिकाले चासो दिएको हो ।

प्रतिक्रिया दिनुहोस्