स्कुल बसमा असुरक्षित विद्यार्थी, मिरमिरेमै भेटिन्छन् मापसे चालक



काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनु कानुनविपरीत हो। यदि कसैले मापसे गरेर सवारी चलाएको छ भने गलत हो । त्यसैले थोरै खाएर होस् वा धेरै, मादक पदार्थ सेवन गरेर जो कोहीले गाडी चलाउँछ भने त्यो व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ नै।

सार्वजनिक सडकमा सवारी चलाउने चालकले मादक पदार्थ वा लागु पदार्थ सेवन गरेर जुनसुकै सवारी चलाउनु लापरबाहीको पराकाष्ठा हो भन्न सकिन्छ । तर, काठमाडौं उपत्यकामा चल्ने सवारीका चालकहरूले यस्ता कुरालाई मनन गरेका पाइँदैन।आइतबार बिहानै कालीमाटी चोकमा विद्यार्थी बोकेको एउटा बसलाई ट्राफिक प्रहरीले रोक्यो ।

बस क्यापिटल हिल कलेज, टेकुको थियो । अनियन्त्रित तरिकाले हाँकेको देखिएपछि तत्काल चालकलाई प्रहरीले नियन्त्रणमा लियो । क्यापिटल हिल कलेजका ड्राइभरअघि पुग्नेबित्तिकै मापसे गरेको गन्धले नै थाहा पायो प्रहरीले। ट्राफिकले ती चालकलाई सोधे, ‘मापसे गरेर गाडी हाँक्ने ?’ जबाफमा ड्राइभरले भने, ‘सर, यो त मैले हिजो खाएको गन्ध हो।’

लगत्तै बस चढ्ने विद्यार्थीहरूले पनि थाहा पाए। उनीहरूलाई मदिराको गन्ध थाहा थियो। तर, बिहानै भएकाले हिजो बेलुका पार्किङ गरेको ठाउँमा कसैले पोखिदिए कि भन्ने सोचे। यता, ट्राफिकले ड्राइभरलाई समातेलगत्तै विद्यार्थीहरूले ट्राफिक प्रहरीलाई धन्यवाद दिए।

क्यापिटल हिल कलेजका बस चालक मात्र होइन, आइतबार बिहानै मापसेकै कारण अन्य स्कुलका थप ४ जना चालकहरू पनि ट्राफिक कारबाहीमा परेका छन्। उनीहरू सबै मापसे सेवन गरेर गाडी चलाएको आरोपमा कारबाहीमा परेका हुन्।

मापसे कारबाहीमा पाठशाला फाउन्डेसन नेपाल बानेश्वर, मगरुबु इन्टरनेसनल कलेज चुच्चेपाटी, जोमियर इन्टरनेसनल स्कुल टुसाल, नेसनल अर्बिक बोर्डिङ स्कुल र क्यापिटल हिल कलेज, टेकुका चालकहरू कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ।

पक्राउ पर्ने चालकहरूमा पाठशाला फाउन्डेसनका पदमबहादुर ठकुरी, मगरुबुका सावा तामाङ, जोमियरका सेजप भण्डारी, नेसनल अर्बिकका कोनाम लिम्बू र क्यापिटल हिल कलेजका रमेश थापा छन्। मापसे कारबाहीमा परेका चालकहरूले पाठशालाको बा १ क ४८७१ नम्बरको बस, मगरुबुको बा.प्र.०१–००४क ०७९९ नम्बरको बस, जोमियरको बा १९ च ५१४१ नम्बरको बस, नेसनलको प्र.३–०१–०२५च ३६९८ नम्बरको बस र क्यापिटल हिलको बा१क ९३८० नम्बरको बस हाँकेका थिए।

ट्राफिक प्रहरीका अनुसार मापसे गरेर विद्यार्थीको ज्यान जोखिममा पार्ने हिसाबमा गाडी चलाएको पाइएपछि उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएर कारबाही गरिएको हो । यसरी पछिल्लो समय स्कुल बसमा भविष्य बोकेका स–साना विद्यार्थीहरू असुरिक्षत बन्दै गइरहेका छन् ।

यस्ता, विषयमा स्कुल प्रशासन र अभिभावकहरूको ध्यान जान जरुरी रहेको ट्राफिक प्रहरी बताउँछन् । ‘स्कुलले निगरानी र अभिभावकले वास्ता गरेको पाइएन’, क्यापिटल हिल कलेजका चालकलाई कारबाही गर्ने ट्राफिक भन्छन्, ‘त्यही भएर स्कुलको सवारी साधन चलाउँदा पनि चालकले मापसे गर्ने गरेको पाइयो ।’

यता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नायव महानिरीक्षक (डीआईजी) एवं प्रमुख मीरा चौधरीले स्कुल बसका चालकहरूले मापसे गरेर गाडी चलाउने गरेको गुनासो आएपछि स्कुल बसहरूमाथि निगरानी बढाएको बताइन् । पछिल्लो समय यस्ता गुनासोहरू व्यापक मात्रामा आउन थालेपछि ट्राफिक प्रहरीले बिहान–बिहान स्कुल बस, दूध बोक्ने ट्यांकर, पानी बोक्ने ट्यांकर, एम्बुलेन्सलगायत अत्यावश्यक सामानहरू बोक्ने गाडीहरूमा समेत निगरानी बढाएको हो।

‘आइतबार बिहान शङ्का लागेर उनीहरूलाई जाँच गर्दा मापसे गरेको पाइयो’, डीआईजी चौधरीले द नेपालटपसँग भनिन्, ‘त्यसपछि उनीहरूको कागजपत्र नियन्त्रणमा लियौँ । सम्बन्धित सबै स्कुल प्रशासनलाई खबर गरेर अर्को चालक बोलाएर गाडी छाड्यौँ ।’

ट्राफिक प्रहरीले नियन्त्रणमा नलिएर यो हदसम्मको लापरबाहीले बस दुर्घटना भएको भए त्यसको जिम्मेवार को हुन्थ्यो ? यसरी पछिल्लो समयमा स्कुल बसका चालकहरूले स–साना विद्यार्थीहरूको जीवनसँग खेलबाड गर्दै आइरहेका डीआईजी चौधरीको बुझाइ छ ।

कारबाहीमा पर्ने स्कुल बसले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने, कागजपत्र नबोक्ने, सहचालकलाई चलाउन दिने गरेको पाइएको छ । त्यसैले उपत्यकामा चल्ने स्कुल बसका चालकहरूमाथि निगरानी राख्नुपर्ने देखिएको अभिभावकहरू बताउँछन् । स्कुल, कलेज, एम्बुलेन्स, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थामा आबद्ध धेरैजसो चालकले दिउँसै मदिरा पिएर सवारी चलाउने गरेको पाइएको डीआईजी चौधरीको भनाइ छ । त्यस्ता सवारी चालकमाथि छड्के कारबाही हुने डीआईजी चौधरीले बताइन्।

‘मदिराको कुलतमा फसेकाहरू चालक बन्दा ट्राफिक नियम उल्लङ्घन गर्ने, तीब्र गतिमा चलाउने, दुर्घटना, यात्रु तथा मालिकमाथि दुव्र्यवहार हुने गरेका गुनासोहरू थुप्रै आउँछन्’, उनले भनिन्, ‘यस कारण अहिले इमान्दार चालकको अभावका कारण सवारी कारबाहीसमेत बढ्ने गरेको छ।’

स्कुल बसबाट हुने दुर्घटना रोक्न चालक, सहचालक र शिक्षकहरूलाई प्रशिक्षण दिन आवश्यक रहेको ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बालनरसिंह राणाले बताए । स्कुल बसलाई सुरक्षित बनाउन स्कुल बस निर्देशिका चालकले पालना गर्नुपर्ने राणाको बुझाइ छ ।

सार्वजनिक मुद्दा चलाउन सकिन्छ
मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने चालकलाई सार्वजनिक मुद्दा चलाउन सकिने प्रावधान छ । यता, जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजालले समेत सार्वजनिक मुद्दा चलाउन सकिने बताए ।

मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा हुने दुर्घटनाले मानवीय क्षति धेरै हुने हुँदा त्यस्ता चालकलाई सार्वजनिक मुद्दा चल्ने सीडीओ रिजालको भनाइ छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकविरुद्धको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ।

यसअघि पनि प्रहरीले केही समय त्यस्ता मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकलाई सार्वजनिक मुद्दा चलाएर कारबाही गर्ने गरेको थियो । त्यस्ता चालकलाई जरिमाना, धरौटीमा रिहा र जेल सजायसम्म हुने प्रहरीले बताएको छ।

नयाँ चालक राखिसक्यौँ : प्रिन्सिपल

यसरी विद्यार्थीहरूको ज्यानसँग खेलबाड गरेर गाडी चलाउने चालकलाई विद्यालय प्रशासनले कारबाही गर्ला या नगर्ला, चासोको विषय हो । क्यापिटल हिल कलेजका प्रिन्सिपल तोयानाथ अधिकारीले कारबाहीमा पर्ने चालकलाई हटाएर अर्कोलाई राखेको बताए।

‘हामीले गल्ती गर्ने चालकलाई हटाएर अर्को नयाँ चालकलाई नियुक्त गरेका छौँ’, प्रिन्सिपल अधिकारीले द नेपालटपसँगको कुराकानीमा भने, ‘मापसे गर्ने चालकलाई निकालेपछि धेरै के कुरा गर्नुपर्‍यो र !’

कार्यान्वयनमै आएन निर्देशिका 
सरकारले स्कुल बस सञ्चालनका लागि स्कुल बसमा अनिवार्य रूपमा पहेँलो रङ पोत्नुपर्ने उल्लेख गरेको छ । तर, अधिकांश स्कुल बसमा त्यसो गरिएको छैन ।

यस्ता बस अधिकतम् प्रतिघन्टा ४० किलोमिटर गतिमा गुड्नुपर्ने हुन्छ । तर, कुनै पनि स्कुल बसका चालकले यस नियमलाई पालना गरेका हुँदैनन् बरु उल्टो उनीहरूले १ घन्टा लाग्ने बाटोमा ३० मिनेटमै पुर्‍याइदिने गर्छन्। यसरी तीब्र गतिका कारण कतिपय स्थानमा दुर्घटना पनि भइरहेको छ।

यसरी स्कुल बसको जाँचपास सार्वजनिक सवारीको मापदन्डअनुसार नै हुने गरेको पाइएको छ। बसमा स्कुलको नाम, ठेगाना र फोन नम्बर पनि लेख्न अनिवार्य गरिएको छ। तर, कुनैकुनै स्कुलका बसबाहेक अधिकांशमा नाम, ठेगाना, फोन नम्बर लेखिएको हुँदैन।

त्यस्तै, आपत्कालीन ढोकाको व्यवस्था गर्नुपर्ने, बसको झ्यालमा ग्रिल अनिवार्य गर्नुपर्ने, अग्निनियन्त्रक सिस्टम तथा प्राथमिक उपचार बाकस राख्नुपर्ने, डस्टबिन राख्नुपर्ने, ढोकामा भरपर्दो चुकुल प्रणाली जोड्नुपर्ने व्यवस्था पनि निर्देशिका मा छ। तर, यी कुनै पनि प्रावधान लागू गरिएको पाइँदैन।

बसमा परिचालकको अनिवार्य व्यवस्था गर्नुपर्ने र धुमपान तथा मद्यपान गर्न नपाइने विषय पनि उल्लेख छ। चालक तथा परिचालकले तोकिएको पोसाक लगाएर परिचयपत्र पनि बोक्नुपर्ने व्यवस्था निर्देशिकामा छ। तर, कुनैकुनै चालकले चुरोट तान्दै गाडी हाँकिरहेका हुन्छन् । यी सबैबारे गहन र बृहत् अनुगमन र जाँच गर्नुपर्ने सरोकारवालाहरूको माग छ।

प्रतिक्रिया दिनुहोस्