प्रहरी महानिरीक्षकका रणनीति : हुल्लडबाजी तह लगाउने, होडबाजीको नम्बर काट्ने



काठमाडौं। प्रहरी महानिरीक्षक (आईजी) नियुक्त भएको १ महिनापछि आयोजित पत्रकारहरूसँगको भेटघाटको क्रममा धीरजप्रताप सिंहले प्रहरीको सरुवा/बढुवालाई पारदर्शी बनाइने बताएका थिए। त्यसबेला आईजी सिंहले प्रहरीको सरुवा/बढुवामा राजनीतिक हस्तक्षेप रोकिने दाबीसमेत गरेका थिए।

विगतको प्रहरी नेतृत्वले कतिपय जिल्लामा कमजोर कार्यसम्पादन भएका प्रहरी नेतृत्व खटाएका कारण शान्ति सुरक्षा प्रभावकारी बन्न नसकेको सिंहको भनाइ थियो। ‘अब त्यसो हुँदैन, कार्यसम्पादन तथा कुशल नेतृत्व गर्न सक्ने प्रहरी अधिकारीलाई मात्र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा खटाइनेछ’, महानिरीक्षक सिंहले भनेका थिए, ‘लामो समयदेखि रोकिएको प्रहरीको बढुवासमेत थप पारदर्शी तथा उत्कृष्टताका आधारमा हुनेछ।’

मङ्गलबार (आज) सिंह आईजी भएको ८५ दिन पूरा भयो । के सिंहले आफ्नो अडानलाई अडिग राखेका छन् त ? प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले आईजी सिंहको छोटो कार्यकालमा प्रहरी सङ्गठनमा ऐतिहासिक सरुवा/बढुवा भएको दाबी गर्छन्।

‘प्रहरीभित्र सरुवा/बढुवा स्वाभाविक प्रक्रिया नै हो तर पनि वर्तमान चिफसा’पको छोटो कार्यकालमा पनि धेरै प्रहरी कर्मचारीको सरुवा/बढुवा भएको छ’, उनले भने, ‘प्रायः प्रहरी जवान र हवल्दारको सरुवा कमै हुन्थ्यो। छोटो समयमा पनि अधिकांशको भएको छ। बढुवा नपाएर निराश प्रहरी कर्मचारी पनि खुसी देखिएका छन्, उनीहरूको मनोबल बढेको छ।’ प्रहरी प्रधान कार्यालयले आईजी सिंहको कार्यकालमा २ हजार ५०० प्रहरी कर्मचारीहरूको बढुवा भएको छ।

नेपाल प्रहरीमा लामो समयदेखि अवरुद्ध तल्लो तहका प्रहरी कर्मचारीको सरुवा/बढुवा प्रक्रिया आईजी सिंहको कार्यकालमा भएको हो। प्रवक्ता राईका अनुसार महानिरीक्षक सिंहले ८५ दिने कार्यकालमा प्रहरी सङ्गठनमा रोकिएको सरुवा/बढुवा निकाल्न सफल भएका हुन्। सिंहले माथिल्लो दर्जाका प्रहरी अधिकृतदेखि तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको सरुवा/बढुवा गरेको प्रवक्ता राई बताउँछन् ।

‘प्रहरी सरुवा/बढुवामा हुने अनावश्यक चलखेल हालका चिफसा’पको कार्यकालमा बन्द नै भएको छ’, प्रवक्ता राई भन्छन्, ‘प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, नायव उपरीक्षक र प्रहरी निरीक्षकसम्मको बढुवा हेरे पुग्छ।’ उनीहरूको वरिष्ठता, कार्यसम्पादन मूल्याङ्कन र इमान्दारीको आधारमा बढुवा गरिएको प्रधान कार्यालयको दाबी छ।

यस्तै, प्रहरी निरीक्षकको बढुवामा समेत आईजी सिंहले अडान राखे। १४७ जनाको जम्बो टोलीका प्रहरी निरीक्षकहरू सबै नायव उपरीक्षकको प्रतिस्पर्धामा थिए, जसका कारण बढुवा निकाल्न त्यति सहज थिएन । १४७ जनामा फ्रेसका अधिकृत १५ देखि २० जना पर्थे । त्यही कारण कसैलाई पनि अन्यायमा पार्न खोजेका थिएनन्।

आईजी सिंहले आफ्नो अडानमा रहेर विभागीयहरूलाई मात्र बढुवा गरेको दाबी गरेका छन्। बालुवाटारदेखि गृह मन्त्रालयसम्मको दबाब थेगेर सिंहले ३४ जना प्रहरी निरीक्षकलाई नायव उपरीक्षकमा बढुवा गर्न सफल भएको उनको सचिवालयको दाबी छ।

प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार बढुवाकै अनुपातमा सरुवा तथा पदस्थापन पनि भएको छ। ‘सिंहको कार्यकालको अर्को मुख्य उपलब्धि सरुवा तथा पदस्थापना हो’, प्रवक्ता राई भन्छन्, ‘लामो समयदेखि हुन नसकेको लेखापालहरूको सरुवासमेत सिंहको कार्यकालमा भएको छ।’

आन्तरिक विवादका तथा विभिन्न कारणले यसअघि लामो समयदेखि लेखापालको सरुवा हुन सकेको थिएन । तर, सिंहले आईजीको शपथ खाएको केही दिनमै ४०२ जना लेखापालहरूको सरुवा निकालेका हुन् । यसअघिका आईजी शैलेश थापा क्षेत्रीको पालामा रोकिएको लेखापालको सरुवा सिंहको कार्यकालमा भएको हो ।

त्यस्तै, पूर्वआईजी ठाकुर ज्ञवालीको पालादेखि रोकिएको प्रहरी जवान र हबल्दारको बढुवासमेत अहिले भएको प्रहरी प्रधान कार्यालय बताउँछ। प्रहरीको सरुवा/बढुवामा राजनीतिक तहबाट हस्तक्षेप हुने गरेको बारे द नेपालटपसँगको जिज्ञासामा महानिरीक्षक सिंहले बाहिर हल्ला भएजस्तो राजनीतिक प्रभाव आफूले महसुस नगरेको भन्दै त्यस्ता क्रियाकलापलाई निरुत्साहित गरिएको बताए।

महानिरीक्षक सिंहले थपे, ‘तपाईंहरूले नै देख्नुभएको होला,अहिलेको सरुवा/बढुवा कसरी भएको छ। यदि कसैले राजनीतिक दबाबमार्फत सरुवा/बढुवा गर्न लबिइङ गर्छ भने त्यस्ता कर्मचारीको विवरण सङ्कलन गरिएको छ।’

प्रहरी प्रधान कार्यालयले राजनीतिक प्रभावमा सरुवा/बढुवा हुन खोज्ने प्रहरीको विवरण सङ्कलन गरिरहेको महानिरीक्षक सिंहले बताए। प्रहरी सरुवा/बढुवामा समान ब्याचमेट (भर्ना समूह)भित्रबाट उत्कृष्टतालाई आधार मानेर गरिएको महानिरीक्षक सिंहको दाबी छ ।
पहिलेजस्तो नभई यस पटक राजनीतिक हस्तक्षेप तथा बिनादबाब सरुवा/बढुवा भएको सिंहको भनाइ छ। रिक्त पदहरूको बढुवा अहिले गर्न नमिल्ने भएकाले २१ असोजपछि तत्कालै हुने सिंहले बताए। हाल प्रहरी सङ्गठनमा विशिष्ट श्रेणी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को १ पद रिक्त छ। ६ साउनदेखि कार्यसम्पादन मूल्याङ्कन (कासमू) लागू हुने भएकाले तत्काल बढुवा गर्न नमिल्ने प्रहरी नियमावलीमा उल्लेख छ।

सिंह आईजी भएपछि नै नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न नयाँ कार्ययोजना–२०७९ सार्वजनिक गरिएको छ। नेपाल प्रहरीमा व्याप्त ध्रुवीकरण, व्यावसायिक नैराश्य र राजनीतिक हस्तक्षेपलगायतका चुनौतीलाई सामना गर्दै व्यावसायिक सङ्गठन बनाउने चुनौती भने बाँकी नै छन् ।

तक्माको होडबाजी गर्नेको नम्बर काटिन्छ : सिंह

सरकारले ३ असोजमा विभूषण पाउने व्यक्तिहरूको नाम घोषणा गर्छ, जसमा प्रहरी अधिकृतहरू मरिहत्ते गरेर लागिपर्छन्। राजनीतिक पहुँचको आधारमा प्रहरी नेतृत्वलाई दबाब दिने गरिन्छ। तर, यस्तो विकृतिलाई निर्मूल बनाउने काम प्रहरी नेतृत्वको नै हो । यस विषयमा प्रहरी महानिरीक्षक सिंहले तक्मा पाउन होडबाजी गर्ने प्रहरी कर्मचारीको नम्बर काट्ने चेतावनी दिएका छन्।

‘जसले तक्मा पाउनका लागि राजनीतिक पहुँचको आधारमा दबाब दिन्छ, त्यो प्रहरी कर्मचारीको नम्बर काटिदिन्छु’, महानिरीक्षक सिंहले थपे, ‘उनीहरूको नाम टिपेर राख्न सचिवालयलाई निर्देशन दिइसकेको छु, हेरौँ, त्यतिबेलासम्म क–कसले त्यसो गर्छन्।’

तक्माबापत प्रहरी प्रधान कार्यालयले २ नम्बर दिने गथ्र्यो । तर, तत्कालीन आईजी शैलेश थापा क्षेत्रीको कार्यकालमा बढुवामा सहज नम्बर थपिन्छ भनेर तक्मा पाउनका लागि नेताहरूमार्फत प्रहरी नेतृत्वलाई दबाब दिन थालेपछि प्रधान कार्यालयले उक्त नम्बर काटेको छ तर पनि तक्मा पाउनका लागि होडबाजी जारी छ ।

प्रतिक्रिया दिनुहोस्