प्रहरी-नेविसंघका कार्यकर्ताबीच दोहोरो झडप



उदयपुर : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ उदयपुरले सोमवार साँझ प्रधानमन्त्रीको पुत्ला दहन गर्नेक्रममा एक सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका छन् ।

नेविसंघका कार्यकर्ताहरुले सदरमुकाम गाईघाटको लोकतान्त्रिक चोकमा प्रधानमन्त्रीको पुत्ला जलाउन लाग्दा प्रहरीले खोसेको थियो । 

आगो सल्किएको पुत्ला खोसाखोस गर्ने क्रममा आगोले लाग्दा सशस्त्र प्रहरी बल ५ नं गण उदयपुरका हवल्दार ३६ वर्षीय लक्ष्मणबहादुर श्रेष्ठ र नेविसंघ जिल्ला सदस्य रौतामाई गाउँपालिका–४ पोखरीका २० वर्षीय प्रल्हाद खत्री घाइते भएका हुन् ।

पेट्रोलसहितको आगोको पुल्ठोले प्रहरी हवल्दार श्रेष्ठको आँखामा असर पर्ने गरी जलेको छ भने कार्यकर्ता खत्रीको दुवै हातका छालाको भाग जलेको प्रहरीले जनाएको ।

घाइते श्रेष्ठको आँखामा चोट लागेकाले थप उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहान लगिएको छ । खत्री जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि घर फर्किएका छन् । काभ्रेमा नेविसंघ कार्यकर्ता पक्राउको विरोधमा उनीहरु प्रदर्शनमा उत्रिएका थिए । 

प्रतिक्रिया दिनुहोस्