डेंगुको महामारी रोक्न उच्चस्तरीय बैठक भोली बस्ने 



काठमडौं : तराई–मधेशमा मात्रै देखिने डेंगु अहिले काठमाडौं उपत्यकासहित मुलुकभर महामारीको रुपमा देखिन थालेको छ ।

वैशाखदेखि अहिलेसम्म २ सय जनाको मृत्यु भइसकेको छ भने १२ सयभन्दा बढी संक्रमित भएका छन् भने उपत्यकामा मात्रै ५९ जना व्यक्ति संक्रमित भएका छन् । त्यस्तै ४ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । 

४२ जिल्लामा फलिएको डेंगु अहिले प्रदेश १ र ३ मा पनि देखिन थालेको छ भने यो वर्ष तीन जनाको ज्यान गएको छ ।  

यसलाई सरकारी तवरबाट नियन्त्रणका लागि काम भइरहे पनि प्रभावकारी रुपमा अगाडी बढ्न सकेको छैन । यस विषयमा द नेपालटपले डरलाग्दो बन्दै डेंगु प्रकोप, सरकारको ११ करोड स्वाहा भन्ने समाचार प्रकाशन गरेको थियो ।

यसै विषयमा छलफल गर्न स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा भोली (बिहीबार) बैठक बस्दै छ । 

स्वास्थ्य मन्त्रालयले मात्र डेंगु नियन्त्रण गर्न नसक्ने देखिएपछि अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य चाहिने भएपछि उच्चस्तरीय बैठक बोलाउनुपरेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

विशेषज्ञका अनुसार अहिले पोथी जातको लामखुट्टेको बसाइ अहिले पहाडतिर सरेको छ । लामखुट्टेलाई अण्डा पार्न प्रोटिन आवश्यक पर्ने भएकोले त्यसका लागि मान्छेको रगत चुस्ने गर्छ । भाले जातको लामखुट्टेले बोटबिरुवाको रगत चुसेर जीवनयापन गर्दछ । 

के हो डेंगु ?

डेंगु रोग एक प्रकारको किटजन्य भाइरल सरुवा रोग हो । यो डेंगु भाइरसको संक्रमणबाट लाग्ने गर्छ । डेंगु भाइरस विशेष गरी एडिज जातको लामखुट्टेमा बस्ने गर्छ । प्रायः डेंगु भाइरस भएको संक्रमित एडिज एजिप्टी र एडिज एल्बोपिक्टस भन्ने लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा यो रोग सर्ने गर्छ ।

संक्रमित मानिस वा बांदरबाट स्वस्थ मानिसमा लामखुट्टेकै टोकाइबाट मात्र यो रोग सर्ने गर्छ, तर यो मानिसबाट मानिसमा सिधै कहिले पनि सर्दैन । डेंगु भाइरसअन्तर्गत पर्ने एउटा भाइरस हो । यसको डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चारओटा फरक सेरोटाइपहरु हुन्छ । यी चारमध्ये डेन–२ नेपालमा धेरै पाउने र अलि जोखिमपूर्ण खालको हुन्छ ।

संक्रमित लामखुट्टेले टोकेको ३ देखि ८ दिन सम्ममा लक्षणहरु देखा पर्न थाल्छ । यसलाई मेडिकल भाषामा इन्कुबेसन पिरिएड भनिन्छ ।

डेंगु भाइरसबाट संक्रमित बिरामीहरुमा सामान्यतया उच्च ज्वरो आउने, टाउको दुख्ने, हाड तथा जोर्नीहरु दुख्ने, शरीरमा सानो सानो, रातो बिबिराहरु देखिने जस्ता लक्षणहरु देखा पर्छन् । यसको लक्षण पंहेलो ज्वरो र जापानिज इन्सेफलाइटिससँग मिल्दोजुल्दो हुने गर्छ ।

डेंगु रोग केही समयमा आफैँ निको हुने खालको भाइरल संक्रमित रोग हो । तर, कहिले काही यो गम्भीर हुन्छ । डेंगुको कुनै पनि सेरोटाइप (डेन–१,२,३,४) ले पहिले नै संक्रमण भएर निको भएको मानिसमा फेरी पहिलेको भन्दा फरक सेरोटाइपबाट संक्रमण भयो भने गम्भीर बन्न सक्छ ।

पहिले पटक संक्रमण भएको मानिसमा संक्रमित सेरोटाइपको एन्टिबडी संक्रमित मानिसको रगतमा हुने गर्छ र अर्को पटक पहिलोकै सेरोटाइपले संक्रमण गर्दा त्यसलाई एन्टिबडीले मरिदिन्छ । तर, अर्को फरक किसिमको सेरोटाइपले संक्रमण गर्दा एन्टिबडीको कमप्लिकेसन भएको बिरामीको मृत्यु पनि हुन सक्छ । यसको मृत्युदर ५ देखि १० प्रतिशातसम्म रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगु सरुवा रोगको रूपमा दिन प्रति दिन बढ्दै गाइरहेको छ । विश्वको आधा जनसंख्या डेंगुको उच्च जोखिम रहेको जनाइएको छ । यसको संक्रमण ट्रोपिकल र सब–ट्रोपिकल क्षेत्रको ग्रामिण भन्दा शहरी तथा अर्ध–शहरी भएको ठाँउमा बढी देखिने गर्दछ ।

यसबाट बच्नको लागि सबैभन्दा पहिले आफैँ सचेत हुनु जररी छ । यसको विशेष एन्टी भाइरल औषधी नभएको र डेंगुविरुद्धको खोप पनि विकास नभइसकेको अवस्थामा जटिलताबाट बच्नु नै हाम्रो लागि मुख्य चुनौती हो ।

 

प्रतिक्रिया दिनुहोस्