दार्चुलास्थित नेपाल-भारत सीमामा बन्ने मोटरेबल पुलको शिलान्यास



दार्चुला । महाकालीमा नेपाल-भारत जोड्ने मोटरेबल पुलको शिलान्यास भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतका उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार संयुक्त रूपमा मोटरेबल पुलको शिलान्यास गरेका हुन् ।

यो पुलले महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने छ । सुदूर पहाडमा महाकाली नदीमाथी बन्ने यो पहिलो मोटरेबल पुल हुनेछ ।

मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले दुई देशलाई व्यापारिक मार्गमा जोडिने भएकाले स्थानीय व्यवसायी खुसी भएका छन् ।

करिब ३३ लाख रुपैया भारतीय लगानीमा निर्माण हुने पुलको लम्बाइ ११० मिटर छ । मन्त्री बडुले सुदूरपहाडमा पहिलो पटक नेपाल–भारत जोड्ने मोटर पुल बन्न लागेको बताउँदै यसले सुदूरपहाडको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरे । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रिदेशीय (नेपाल-भारत-चीन) व्यापारको समेत ढोका खुल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्