डेंगी : नआत्तिऔँ, सतर्क बनौँ



काठमाडौं । कोभिड– १९ सङ्क्रमणको ग्राफ ओरालो लाग्न थालेपछि डेंगीको ग्राफ उकालो लाग्न थालेको अवस्थामा छ। सङ्क्रमण रोग विज्ञहरू अबको १ महिना थप खतरा औँल्याइरहेका छन् । कोरोनाको जस्तो मृत्युदर बढी नभए पनि सङ्क्रमण भएपछिको पीडा भने कोरोनाले दिनेभन्दा भयानक हुने सङ्क्रमितको अनुभव छ।

अस्वाभाविक रूपमा ज्वरो बढ्ने, जीउ दुख्ने, बान्ता हुनेजस्ता लक्षण डेंगीमा देखिए पनि नआत्तिने र चिकित्सकले दिएको सुझाव पालना गर्ने हो भने डेंगीलाई सजिलै परास्त गर्न सकिन्छ । सँगसँगै सङ्घीयदेखि प्रदेश हुँदै स्थानीय सरकारको चासो डेंगी नियन्त्रणमा पटक्कै देखिएको छैन।

जनस्वास्थ्यमा सरकारी स्तरमा देखिएको यो चरम लापरबाहीले पनि डेंगीले महामारीको रूप लिने हो कि भन्ने जनमानसमा त्रास बढेको छ। सरकार चुपचाप बसेपछि यसको नियन्त्रमा नागरिकले नै बढी चासो दिने र सतर्क बन्नुपर्ने अवस्था देखिँदै छ। साउनयता सङ्क्रमण दरसँगै यसबाट मृत्यु हुने सङ्ख्या पनि बढ्दो क्रममा छ।

बुधबार एकै दिन ४ जनाले ज्यान गुमाउँदा साउनयता मात्र साढे २७ हजार जना सङ्क्रमणबाट पीडित भइसकेका छन् । विगतका वर्षका तुलनामा यस पटकको सङ्क्रमण अवधि र असर बढी भए पनि पर्याप्त स्वास्थ्य सुरक्षा अपनाएको खण्डमा कोरोनाजति घातक डेंगी छैन भनिरहेका छन् स्वास्थ्यकर्मी। सतर्कतासम्बन्धी मापदण्ड पालनामा हेलचेक्र्याइँ नगर्नु सङ्क्रमणबाट जोगिने महत्वपूर्ण उपाय हो । सतर्कता बढाउने नाममा अति डर राखेर भाग्नुपर्ने अवस्था अब सङ्क्रमणबाट छैन भन्ने मेडिकल र व्यावहारिक दुवै दृष्टिले पुष्टि हुँदै गइरहेको चिकित्सकहरु बताइरहेका छन् ।

डेंगी नियन्त्रणमा सरकार अहिलेसम्म चुकेको छ । जुन ढङ्गले यसको नियन्त्रणमा सरकारी पहल हुनुपर्ने हो, त्यो भएको छैन। सरकारको ध्यान निर्वाचनमा केन्द्रित भइसकेको अवस्थामा जनस्वास्थ्यका विषयमा ध्यान पुग्न नसकेको अवस्था छ । यो लापरबाहीबाट सरकार सजग हुनै पर्छ । सँगसँगै आमजनताले पनि डेंगीको स्रोत लामखुट्टे उत्पादन हुन नदिन उपायहरू अवलम्बन गर्नै पर्छ । सरकारको मात्र मुख ताकेर डेंगी नियन्त्रण हुन सक्दैन ।

सरकारले सरकारी अस्पतालहरूसम्मलाई पनि तयारी अवस्थामा राखेको देखिँदैन । त्यसैगरी स्थानीय सरकारले पनि डेंगीको नियन्त्रण र उपचारमा कुनै चासो दिएका छैनन् । स्थानीय सरकारले सम्भावित जोखिमको आँकलन गर्दै डेंगी नियन्त्रण र रोकथाममा चासो देखाउनुपर्छ । सर्वसाधारणले पनि अति डर र अति बेवास्ताको मनोविज्ञानबाट पछि हट्नुपर्छ । यसो भयो भने डेंगीको जोखिमलाई जित्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्