ऐतिहासिक फैसलाको हिस्सेदार बनौँ



काठमाडौं । आज अर्थात् ४ मङ्सिर २०७९ । आगामी ५ वर्ष देशको नीति, कानुन र समृद्धिलाई लयमा ल्याउने सबैभन्दा राम्रा जनप्रतिनिधि छान्ने दिन । एउटा यस्तो ऐतिहासिक दिन, जहाँ सार्वभौम जनताले गर्ने सही निर्णयले देशलाई थप उचाइमा पु¥याउने कि परम्पराकै निरन्तरता दिने भन्ने फैसला हुँदै छ।

यो महान् फैसला गर्ने दिनमा सबै मतदातालाई आफ्नो निर्वाचन स्थलको तोकिएको केन्द्रमा पुगेर अनिवार्य मतदान गर्न आह्वान गर्दछौँ । र, तपाईंको विवेक ‘हाम्रामा’ होइन, देशका लागि केही गर्ने भिजन भएका र राम्रा प्रतिनिधिमा हुँदै छ भनेर विश्वास पनि गर्दछौँ। नेपाली जनताले परिवर्तनका लागि अनेक कष्ट सहेका छन् ।

सयौँको बलिदानीपूर्ण सङ्घर्षबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर प्रतिस्पर्धात्मक सङ्घीय व्यवस्था स्थापना भ्उ तापनि अझै यस व्यवस्थामा सबैको एक मत देखिँदैन । फरक मतका बीच पनि सङ्घीय लोकतान्त्रिक संविधान बनेपछिको दोस्रो महासङ्ग्राममा देश छ । आफैँले रोजेका प्रतिनिधिमार्फत आफ्ना एजेन्डा कार्यान्वयन गर्ने यस अवसरमा तपाईंको मत तपाईंका एजेन्डा नबोक्नेको हातमा पुग्यो भने देश पुनः बर्बादीतिर जानेछ ।

लोकतन्त्रको एउटा महत्वपूर्ण र सुन्दर पक्ष प्रतिस्पर्धात्मक आवधिक निर्वाचन हो, जसमार्फत अनुमोदित जनप्रतिनिधिहरू राष्ट्र, सरकार प्रमुखदेखि नीति निर्माता र विकासका सम्वाहक पनि हुन्। यी सम्वाहक खराब परे भने त्यसको सजाय जनताले अर्थात् मतदाताले नै भोग्नुपर्नेछ । सजाय भोग्न तयार कि विगतमा गल्ती गर्नेलाई सजाय दिन तयार, तपाईं आफैँले आज ‘ब्यालेट’मार्फत निर्धारण गर्नुपर्नेछ।
देशमा अहिले पनि संविधान सर्वस्वीकार्य हुन सकेको छैन ।

विगतमा संविधान बनाउँदा एक ठाउँमा आएका दल ५ वर्षपछि फरक एजेन्डा बोकेर चुनावी मैदानमा छन् । कसका एजेन्डा अनुमोदन गर्दा देश कता जान्छ भन्ने विवेक पनि मतदाताकै हातमा छ । एउटा महत्वपूर्ण सवाल, लोकतन्त्रमा दलको विकल्प निर्दल या कुनै अमूक व्यक्ति हुन सक्दैन ।

दलहरूप्रति अविश्वास गरेर देश समृद्ध बन्दैन तर राम्रा काम नगर्ने दललाई मतदान नगर्न जनता स्वतन्त्र छन् । शासन सत्तामा पुग्नेदेखि नीति निर्माण तहमा पुग्नेसम्मको फैसला जनताको सार्वभौम अदालतबाट आजै हुने हो । यस फैसलामा तपाईंको एउटा मात्र गलत तर्क, प्रमाण, व्याख्या र नजिरले देश बर्बादीतिर जान सक्ने खतरा पनि उत्तिकै छ।

संविधान, नीति, सामाजिक परम्परालगायतको समयानुकूल र जनहितमा परिमार्जन तथा परिष्कार गर्दै लैजानुपर्ने एकातिर चुनौती छ भने अर्कातर्फ लामो समयदेखि राज गर्ने तर काम नगर्नेलाई बिदाइ पनि गर्नु छ। यी सबै निर्णय लिन पनि तपाईं आफ्नो मतदान केन्द्रमा आज पुग्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्