युवालाई अवसर होइन, जिम्मेवारी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक भाषणमा भन्ने गर्छन्, ‘प्लस टु पढ्दै गरेकालाई युवा जोश छ भनेर विश्वविद्यालयको प्रोफेसर बनाउन मिल्दैन।’ दलीय राजनीति र शासन सत्तामा नेतृत्व लिने सवालमा उनले उमेरभन्दा योग्यता र अनुभवलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा यो उदाहरण दिन्छन्। तर, राजनीतिक नेतृत्वको अनुभव ढुङ्गा हानेको, जेल बसेको, सङ्गठन गरेको २–४ वटा भोटो बढी फटाएको मात्र होइन, यो व्यक्तिको विशिष्ट क्षमता र जनचाहनामा पनि भर पर्छ ।

जनतमतले सधैँ सही नेतृत्व चयन गर्छ भन्ने छैन तर अनुमोदन गरेको विषयलाई अन्यथा मान्न मिल्दैन लोकतन्त्रमा । यस पटक भावी प्रधानमन्त्रीमा पुस्तान्तरणको बहस जबर्जस्त रूपमा उठिरहेको छ । यो उठानमा ओलीको जस्तो व्याख्या गरियो भने रूपान्तरण र परिवर्तन असम्भव हुनेछ ।

आमनिर्वाचनको सरगर्मी बढ्दै जाँदा कांग्रेसभित्र प्रधानमन्त्रीका ५ जना दाबेदार देखिए । एमालेले त घोषणापत्रमै ओलीलाई अघि सारेर आयो । परिणामले कुनै दलले एकल सरकारको नेतृत्व गर्न नसक्ने भनिसक्यो । अब चुनावी जस्तै सत्ता गठबन्धन अपरिहार्य नै भयो । यस अवस्थामा वर्तमान सत्ता गठबन्धन सुविधाजनक अवस्थामा छ तर शक्ति बाँडफाँटको किचलोले यो कायम रहने वा नरहने ठेगान छैन । यस्तो अवस्थामा पनि कांग्रेसका युवा नेता, जो महामन्त्रीसमेत हुन्, जबर्जस्त रूपमा प्रधानमन्त्रीका दाबेदारका रूपमा आएका छन् ।

उनमा केही गर्छु भन्ने जोशसँगै राजनीतिक र प्रशासनिक अनुभव पनि छ, भलै, त्यो देउवा, ओली, प्रचण्डहरूसँग भन्दा कम होला । तर, क्षमता कम छ भनेर जसरी अवमूल्यन भइरहेको छ राजनीतिज्ञको पाका पुस्ताबाट, यो भने दुर्भाग्य हो ।

युवालाई अवसर दिनुपर्छ भन्ने आमबुझाइ छ तर उनीहरूलाई अवसर होइन, जिम्मेवारी दिनु आजको आवश्यकता हो। अवसर युवाले पाएका छन्। प्रतिशतमा कम–बेसी होला तर हस्तक्षेपमा उनीहरू कमजोर छैनन् । कांग्रेसमा पटकपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा, लामो राजनीतिक जीवन गुजारेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशाङ्क कोइरालाहरूभन्दा कुनै पनि अर्थमा गगनकुमार थापाको क्षमता कमजोर हुन सक्दैन । र, ओलीभन्दा एमालेका युवा नेताहरू पनि कमजोर छैनन् ।

सरकार कसको नेतृत्वमा बन्छ, आकार आउन केही दिन लाग्छ नै । तर, भावी प्रधानमन्त्री भने यस पटक पुस्तान्तरण हुनै पर्छ । प्रधानमन्त्रीको कुर्सी अवसर होइन, जिम्मेवारी हो । यो जिम्मेवारी बोक्ने आँटसहित आएका गगन जस्ता युवा पुस्ताले यस पटक जिममेवारी पाउनुपर्छ । पटकपटक परीक्षणमा परेर असफल सावित भएका पाका र अनुभवी नेतृत्वलाई माथ गर्ने जिम्मेवार व्यक्ति देशले खोजेको छ । दलहरूले बेलैमा सोचून् ।

प्रतिक्रिया दिनुहोस्