नमस्ते ट्रान्सपोर्टको ५५ लाख बढीको अवैध सामान र ट्रक प्रहरीको नियन्त्रणमा



वीरगञ्ज। नमस्ते ट्रान्सपोर्टको ५५ लाखभन्दा बढीको सामानसहित प्र.२–०३–००१ ख ३६९४ नम्बरको मालवाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय विर्ताले ५५ लाखभन्दा बढी मूल्यको अवैध सामाग्री बोकेर आइरहेको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० ग्रिनसिटी चोक सडकखण्डबाट अवैध रुपमा वीरगन्जबाट कास्की गइरहेको प्र.२-०३-००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकसहित ५५ लाख १२ हजार ५ सय ३१ रुपैयाँ बराबरको खुद्रा तथा लत्ताकपडा प्रहरीले बरामद गरेको हो । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले नमस्ते कार्गो ट्रान्सपोर्टबाट पठाइएको औषधी, लत्ताकपडा तथा खुद्रा सामानको विलबिजक शंकास्पद देखेपछि मालवाहक ट्रक नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए।

विलबिजकभन्दा बढीको सामाग्रीसहितको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको सूचनाको आधारमा चेकजाँच गरिएको मल्लले बताए । नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक अनुसन्धानका लागि बरामद सामाग्रीसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दिपक गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्