प्रचण्ड प्रधानमन्त्री भएलगतै रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात



काठमाडौँ । । झन्डै ३५ महिनासम्म बन्द रहेको नेपाली सामान चीन निर्यातको खुला भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएलगतै नेपाली सामान रसुवागढी नाकाबाट
चीनतर्फ निर्यात सुरु भएको हो ।

कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ। भन्सार कार्यालयका अनुसार मंगलबार करिब ५० लाख नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको छ। कोरोनाका कारण रोकिएको निर्यात आजदेखि खुलेको हो। मंगलबार बाँसका मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायतका वस्तु चीनतर्फ निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो। अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो। यहाँबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्