कराडौं खर्च हुँदा पनि भएन छाडा पशुको दीगो व्यवस्थापन



कञ्चनपुर । कञ्चनपुरमा पालिकाहरूले कराडौं रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको दीगो व्यवस्थापन हुन सकेको छैन्। छाडा पशु चौपायाहरू राजमार्गमा जथाभावी छाडिँदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै छ।

बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरूले छाडा पशुका कारण बालीनाली नै नोक्सान पुर्‍याएको भन्दै आक्रोश व्यक्त गरिएपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरिएको छ। विगत साढे ५ वर्षयता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौं रकम खर्च गरिसकेका छन्।

कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष/उपप्रमुखलाई दिइएको छ । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जी हाउस बनाउन लागिएको बताए । ‘नगरपालिका छेउमै राखेर केही महिनायता छाडा पशु अस्थायी रूपमा व्यवस्थापन गरिरहेका छौं,’ उनले भने, ‘दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडा पशु व्यवस्थापनमा साढे ५ लाख रुपैयाँ जति खर्च भइसकेको छ ।’

उनले १० मध्ये ८ वडामा काञ्जी हाउस बनिरहेको बताए । ‘काञ्जी हाउस लगायतका व्यवस्थापनमा २८/३० लाख जति खर्च हुने अनुमान छ,’ उनले भने, ‘छाडा पशु व्यवस्थानमा पशुपालक किसानहरू पनि सहयोगी हुनु आवश्यक छ ।’ बितेका साढे ५ वर्षयता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा १ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ।

भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा नम्बर १३ का वडाध्यक्ष रामबहादुर बोहराको नेतृत्वमा कार्यदल समेत बनाएको थियो। कार्यदलका संयोजक रामबहादुर बोहराले पशु व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा खोजी गरेर नगरपालिकालाई प्रतिवेदन बुझाएको बताए ।‘हामीले यो यो ठाउँमा खाली जमिन छ। पहलका लागि आवश्यक सुझावसहित प्रतिवेदन बुझाएका छौं,’ उनले भने, ‘आजभोलिमा कहाँ व्यवस्थापन हुने हो टुंगो लाग्छ।’

भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानूनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो । चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाड ापशुमा ट्याग लगाउने कार्य गरेको थियो । हालसम्म भीमदत्तले ९१ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको छ। शुक्लाफाँटा नगरपालिकाले वडा नम्बर ९ सिसैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थान गरिरहेको छ । त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाध्यक्ष रमेश ऐरले लिएका छन्।

वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे ३०० पशु रहेका बताए। ‘यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा समस्या कम हुँदै गएको छ,’ ऐरले भने, ‘गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालू आवमा ४० लाख रुपैयाँ दिएको छ ।’ उनले विगत २ वर्षयता पशु व्यवस्थापनमा जुटेको बताए।

‘अग्र्यानिक मल उत्पादनदेखि, दुग्ध उत्पादनदेखि छाडा गोरु छाड्नेलाई कारबाही गर्नेसम्मको कार्यविधि बनाएको छ,’ उनले भने, ‘अरु पालिकाभन्दा व्यवस्थापनमा हामी अघि छौं ।’ उनले गौशालालाई सुदूरपश्चिमकै अध्ययन केन्द्र बनाउने योजना रहेको बताए।

उनले विगत वर्षयता वार्षिक ४० लाख रुपैयाँ नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिए । छाडा पशु व्यवस्थापनमा ठूलो धनराशि खर्च भइसक्दा पनि दीगो व्यवस्थापन नहुँदा बेलाबखतमा स्थानीय किसान आक्रोशित हुँदै आएका छन् । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले आफू र छिमेकी लालझाडी पालिकासित मिलेर समेत छाडा पशु व्यवस्थापन गरिरहेको जानकारी दिए । ‘हाम्रो पालिकामा पर्ने वनहरादेखि मोहना चोकसम्म राजमार्गमा मुस्किलले अब छाडा पशु देख्नु हुन्छ,’ उनले भने, ‘यहाँका धेरै ठाउँमा काञ्जी हाउस बनाएर करीब १ हजारदेखि ११ सय चौपायाको व्यवस्थान गरिहेको छ।’

उनले आफूहरू जनप्रतिनिधि भएर आइसकेपछि चौपाया व्यवस्थापनमा १० लाख रुपैयाँको हाराहारीमा खर्च भएको बताए । ४ वर्षअघि कञ्चनपुरमा छाडा पशु व्यवस्थापनको विषय अदालतसम्म पुगेको थियो । महेन्द्रनगरका अधिवक्ता गजेन्द्रबहादुर रावलले यहाँका पालिकालाई विपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत महेन्द्रनगर इजलासले चौपाया व्यवस्थापन गर्न परमादेश समेत जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्