पाँचखाल बृहत् खानेपानी आयोजना थप १ वर्ष लम्बिने



काभ्रेपलाञ्चोक । ७ हजारलाई खानेपानी सुविधा पुर्‍याउने लक्ष्यले शुरू भएको पाँचखाल बृहत् शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन सकेको छैन। परियोजनाको २०७६ भदौ १२ गते २०७९ पुसभित्र सक्ने गरी शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरियो।

सरकारले चालू आर्थिक वर्षको बजेटमा २०७९ सालभित्र आयोजनाको काम सक्ने उल्लेख थियो। भौतिक निर्माण तीव्ररूपमा अघि बढेको भने पनि सामग्री अभाव तथा विविध कारण समयमै आयोजना सम्पन्न नभएको जनाइएको छ। निर्माण कम्पनीले खानेपानी वितरणको डीआई नामक ठूला पोलिथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ। गत साउनदेखि भारतमा बुकिङ गरिएको पाइप नआएको कारण देखाइएको हो।

केही स्थानमा पाइप बिच्छ्याउने तथा धारा वितरणका क्रममा विवाद भएकाले आयोजना सक्ने समय लम्बिने देखिएको हो। निर्धारित समयमा आयोजना सम्पन्न नहुने भएको उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताए । उनले निर्माण कप्पनीले विविध कारण देखाउँदै थप १ वर्ष समय मागेको छ । भौतिक संरचना निर्माणको काम ७८ प्रतिशत सम्पन्न भएको छ। काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यसाथ आयोजना कार्यान्वयन चरणमा छ।

कोरोना संक्रमणको उच्च जोखिमले सम्झौतापछि केही समय धकेलिएको आयोजनाको काम पछिल्लो समय तीव्र पारिएको हो। पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै सडक पुर्‍याउने काम भइसकेकाले सडक ढलान तथा ग्राभेल गर्ने काम भइरहेको समितिले जनाएको छ। हाल मूल र रिजर्भ ट्यांकीसम्म पहुँचमार्गको काम भइरहेको छ। १ हजार ७०० का घरमा धारा जडान कार्य सकिएको छ।

प्रतिक्रिया दिनुहोस्