इन्दिराको उपसभामुखसम्मको यात्रा



रमेश पौडेल

काठमाडौं । शनिबार प्रतिनिधिसभामा भएको उपसभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री इन्दिरा रानामगर निर्वाचित भइन् । सत्ता गठबन्धनका तर्फबाट निर्वाचन लडेकी मगर १६६ मतसहित देशको १२औँ उपसभामुख बनिन् । मगरसँग प्रतिस्पर्धा गरेकी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले ९७ मत ल्याइन् ।

मगर उपसभामुखमा निर्वाचित भएसँगै सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै संविधानले दिएको भूमिका तटस्थ रूपमा निभाउने बाचा गरिन् । उनले भनिन्, ‘आजदेखि ठूलो परिवारमा भित्रिएकी छु। तटस्थ र इमान्दारीसाथ भूमिका निभाउँछु।’

को हुन् उपसभामुख इन्दिरा ?

उपसभामुख मगर १८ असार २०२७ मा झापा जिल्लाको तत्कालीन शनिश्चरे– ६ (हालः अर्जुनधारा नगरपालिका)मा जन्मिएकी हुन् । उनले औपचारिक शिक्षा १० वर्षको उमेर हुँदा मात्र पाएकी थिइन्।उनको उमेर १० वर्ष भएकाले सानो कक्षामा पढ्न नमानेपछि उनलाई महारानीगन्ज प्राविमा ५ कक्षामा भर्ना गरिएको थियो। उनी भर्ना भएर अर्को कक्षामा अर्थात् ६ कक्षामा जाँदा पहिलो भएर गएकी थिइन् ।

शिक्षा हासिल गर्ने क्रममा उनी काठमाडौंमा टाँक बनाउने कम्पनीमा पनि काम गरेकी थिइन् । त्यो काममा चित्त नबुझेपछि उनले नयाँ कामको खोजीमा स्कुलमा जागिर पाइनँ । त्यहीँबाट उनको शिक्षण पेसा सुरु भयो ।

शिक्षण गर्ने क्रममा उनको चिनजान साहित्यकार पारिजातसँग भयो । पारिजात त्यसबेला मानवअधिकारवादी संस्था ‘ह्युरनकी’ उपाध्यक्ष थिइन्। त्यसबेला पारिजातले जेल पुगेर बन्दीको अवस्थाबारे बुझ्ने गर्थिन् । मगर पनि त्यही संस्थाकी सदस्य बनिन् र उनको सामाजिक यात्रा सुरु भयो।

त्यसयता मगरले निरन्तर बन्दी भएर जेल जीवन काटिरहेका व्यक्तिका लागि काम गरिरहेकी छन् । मगर राजनीतिमा आउनुभन्दा अगाडि ‘बन्दी सहायता नेपाल’ नामक गैरसरकारी संस्थाको संस्थापक अध्यक्ष बनिन् । उक्त संस्थाले बाबुआमा जेलमा भएका बालबालिकालाई पालन पोषण गर्दै आएकी छन्। त्यसरी पालन पोषण गर्न थालेको ३३ वर्ष भइसकेको छ। बालबालिकालाई संरक्षण गर्दै उनले पढाउने कामसमेत गर्दै आएकी छन् । उनको मातहत अहिले २ वटा विद्यालय र १२ वटा बालगृह सञ्चालनमा छन्।

सामाजिक कामको माध्यमबाट मगरले सन् २००५ मा अशोक फेलो अवार्ड, सिया २१ यङ लिडर पब्लिक सर्भिस अवार्ड, २००९, वल्र्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड, २०१४ र बीबीसीको ‘१०० विमन’ अर्थात् सन् २०१७ का लागि प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा परेकी थिइन् । बीबीसीले त्यस सूचीमा राखेसँगै मगरको चर्चा चुलिएको थियो।

रास्वपाले सामाजमा राम्रा छवि भएका र समाजमा केही गरेका व्यक्ति जोड्न क्रममा मगरलाई गत निर्वाचनमा जनजाति कोटामा समानुपातिक सांसद् बनाएको थियो । पहिलो पटक राजनीतिमा आएसँगै उनले उपसभामुखसम्मको यात्रा गर्न सफल भइन्।

उपसभामुखको अधिकार कति ?

नेपालको संविधानले व्यवस्था गरेअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नुपर्ने व्यवस्था छ। सभामुखले पदअनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उठेमा त्यस उपरको छलफलमा त्यसको अध्यक्षता उपसभामुखले गर्नुपर्ने व्यवस्था छ। त्यसैगरी प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्मा समेत उपसभामुख सदस्य रहने व्यवस्था संविधानले गरेको छ ।

उपसभामुखका सुविधा केके ?

उपसभामुखले प्रतिनिधिसभाका विपक्षी दलको नेता र राष्ट्रियसभाका उपाध्यक्षले समान सुविधा पाउँछन्। उपसभामुखको तलब मात्र मासिक ६० हजार ९७० रुपैयाँ हुन्छ। तलबसहित विभिन्न शीर्षकमा उपसभामुखले मासिक ९६ हजार ७८ रुपैयाँ पाउँछन्।

त्यसबाहेक संसद्को प्रत्येक बैठकमा १ हजार रुपैयाँ भत्ता, १५ हजार रुपैयाँ एक पटक फिर्निचर किन्न, मासिक २३० लिटर पेट्रोल, ३ महिनामा ५ लिटर मोबिल, भ्रमण गर्नुपरेमा प्रत्येक दिन २ हजार ५०० रुपैयाँ र भ्रमण गर्दा बीमाबापत १० लाख रुपैयाँ पाउँछन्। त्यसबाहेक पनि उपसभामुखलाई सचिवालय राख्न पाउने सुविधा हुन्छ। सचिवालयको खर्च अलग तरिकाले हुन्छ। सुरक्षा, अफिसमा काम गर्नेलगायतका सुविधाहरू उपसभामुखले पाउँछन्।

प्रतिक्रिया दिनुहोस्