प्रचण्ड सरकारका मन्त्रीको स्टन्टबाजी : बाचामा आशा, व्यवहारमा निराशा



काठमाडौं । सरकार फेरिएसँगै जनताकोे सद्भाव र मन जित्न मन्त्रीहरूले अनेकन फन्डा लिएर आउन थालेका छन् । ‘हामी पहिलेका जस्ता छैनौँ है !’ भन्ने देखाउन सस्ता भाषण र निर्णय पनि गर्छन् । तर, त्यस्ता ‘स्टन्ट’ले के साँँच्चै जनताको विश्वास जित्न सक्छन् ? नेता र मन्त्रीका ठुल्ठुला भाषणले आजित बनेका जनताका लागि त्यस्ता स–साना कुराले केही मात्रामा भए पनि विश्वास जाग्न सक्छ । तर, ती कुरा पनि भाषण र निर्णयमा सीमित भए भने ? जनतामा अहिले देखिएको कौतूहल पनि यही हो ।

२२ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत ५ बुँदे प्रतिबद्धता जारी गरे, जसमा आफ्नो सुरक्षाकर्मी घटाउनेदेखि शनिबार निजी सवारी प्रयोग गर्नेसम्म थिए। उनले भनेका थिए, ‘नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन । म यसको नेतृत्वमा रहँदा ममात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन । म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ ।’

उनका प्रतिबद्धतामा सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षकको नेतृत्व राख्ने, सवारीका अगुवा–पछुवा गाडी हटाएर एउटा मात्र गाडी सुरक्षामा राख्ने, आमनागरिक जस्तै सडक नियमको पूर्ण पालना गर्ने, साइरन बजाउँदै नहिँड्ने, व्यक्तिगत कामका लागि र बिदाका दिन निजी सवारीको प्रयोग गर्नेजस्ता बुँदा थिए । उनका प्रतिबद्धताले ठुला भाषणभन्दा साना काम गर्ने नेतृत्व चाहेका नागरिकका लागि केही आस पक्कै जागेको छ । तर, उनका ती प्रतिबद्धता पूरा हुने हुन् वा भाषणमै सीमित हुने हो, त्यो आगामी दिनमा जनताले मूल्याङ्कन गर्नेछन् ।

भइपरी आउने अवस्थालाई अपवादका रूपमा हेर्न उनले आग्रह गरेकाले कतै सधैँ भइपरी अवस्थामा मृहमन्त्री जकडिने त होइनन् ? भन्ने शङ्का पनि छ । सामान्य विषयलाई प्रधान मानेर निर्णय लिनेमा अहिलेको मन्त्रिपरिषद्मा उनीमात्र एउटा पात्र होइनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीले पनि सामान्य विषयलाई महत्वपूर्ण ठान्दै आफूलाई बधाई दिन आउनेहरूलाई खादा र माला नलिई आउन आग्रह गरेका छन् ।

अझ उनले त खादाको साटो बधाई दिन आउँदा खादा, माला, फूल किन्ने पैसा सहयोग पेटिकामा राख्न सुझाव दिएका छन् । यसरी जम्मा भएको रकम दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा लगानी गर्ने मन्त्री किराँतीले बताएका छन् । त्यसका लागि उनले १ महिनाको सुविधा दिने र आफ्नो सचिवालयका तर्फबाट पनि १५ दिनको सुविधा दिन लगाउने घोषणासमेत गरेका छन् । साथै, उनले रकम सङ्कलनका लागि मन्त्री निवास र कार्यकक्षमा सहयोग पेटिका नै राखेका छन् ।

देशको अर्थतन्त्र सामान्यभन्दा तल रहेकाले मन्त्रालयका कुनै पनि चिज नफेर्न र जे छ, त्यसमा काम चलाउन उनले कर्मचारीलाई निर्देशनात्मक आग्रह पनि गरेका छन् । महँगा सोख पूरा गर्न मन्त्री बनेकाहरूलाई देखेका जनताका लागि मन्त्री किराँतीका यी निर्णयले केही आसका सङ्केत देखाएका छन् । तर, जनताका मन जित्न मात्र यस्ता आश्वासनहरू आएका हुन् वा साँच्चै नै केही गर्न खोजेको हो, त्यो भने अबका केही दिनमा नै देखिने निश्चित छ ।

अनावश्यक खर्च नगर्न भन्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पनि १७ वटा सूची सार्वजनिक गरे, जसमध्ये बोतलको पानीलाई निरुत्साहित गरी जारको पानीको प्रयोगलाई प्रोत्साहन गर्ने बुँदा अहिले चर्चामा छ । हुन पनि देशको राजधानीसमेत रहेको काठमाडौंकै जनताले पनि शुद्ध पिउने पानी नपाइरहेको अवस्थामा १ घुट्को पानीका लागि महँगा बोलतको पानी प्रयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नैपर्ने पनि थियो । यसकारण पनि यस निर्णयले विशेष गरी काठमाडौंका जनताको मन जितेको हुन सक्छ ।

अत्यावश्यकबाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित, सकेसम्म कार्यालयमा वैकल्पिक र किफायती सामानको प्रयोग, अत्यावश्यकबाहेक सेमिनार, तालिम गोष्ठीमा रोक, बैठक र अतिथि सत्कारका लागि छुट्ट्याइएका बाहेक, खाना, खाजा सरकारी खर्चबाट भुक्तानी नगर्ने, कार्यालय समयभित्र बैठक गर्नुपर्नेजस्ता निर्णय अर्थमन्त्री पौडेलले गरेका छन् । सुन्दा सामान्य विषय लागे पनि यी ३ मन्त्रीले गरेका निर्णय र पहलहरू नै अहिलेको अवस्थामा आमजनताले चाहेका विषय थिए।

घन्टौँ ट्राफिक जाममा बसेर वाक्क भएकाहरूको छेवैबाट साइरन बजाउँदै मन्त्रीको सवारी हुँदा देशप्रतिको माया लत्याएर विदेश हानिएका हजारौँ युवा अहिले पनि विदेशमै छन्। मन्त्रीका चाकडी र चाप्लुसी गरेकै भरमा आफ्नो काम फत्ते गर्नेहरू वर्षौंदेखि केही गर्ने सोच हुँदाहुँदै अड्किएको फाइल बोकेर बसेकाहरूको भिडमा देखिन्छन्। यस्ता उदाहरण अहिले हरेक घरमा पाइन्छन्।

सरकारका तर्फबाट पाउनुपर्ने सामान्य सेवा पनि नपाइरहेको अवस्था मन्त्रीका ती सामान्य निर्णयले जनताका दैनिकीमा कुनै ठुलो फरक नपारे पनि नेतृत्वमा देखिएको परिवर्तन महसुस गर्न सक्छन् । तर, जनताको मन जित्न ‘स्टन्ट’को रूपमा मात्र यस्ता निर्णय आएका हुन् भने पुरानाका भिडमा नयाँ बनेर आएका ती पुरानै प्रवृत्तिलाई जनताले कुनै हालतमा नस्वीकार्ने राजनीतिक वृत्तमा चर्चा सुनिन्छ ।

प्रतिक्रिया दिनुहोस्