औपचारिक मात्र नबनोस् नारी दिवस



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । हरेक वर्षझैँ अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष पनि आइसकेको छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा डिजिटल, लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि भन्ने रहेको छ भने राष्ट्रिय नारा लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँँचको विस्तार रहेको छ ।

सङ्घीय सरकारका सबै निकाय, प्रदेश, जिल्ला समन्वय समिति, स्थानीय तह सबैलाई अनि सामाजिक, शैक्षिक, निजी सङ्घ संस्थाहरूलाई समेत भनौँ सरोकारवालाहरूलाई सरकारले उर्दी जारी गरिसकेको छ भव्य रूपमा मनाउन ।

पूर्वीय दर्शनमा नारी

हाम्रो भूमि वैदिक सभ्यताको भूमि हो । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता, यो मनुस्मृतिकोे भनाइ हो । नारीको जहाँ सम्मान हुन्छ, त्यहाँ देवताहरू पनि प्रसन्न हुन्छन् । यो दर्शनलाई बोकेका छौँ हामीले । सबै पुर्वीय मान्यताले जहाँ नारीको प्रतिष्ठा, पूजा भनाँै सम्मान हुन्छ, त्यहाँ स्वर्गीय देवताहरू पनि खुसी रहन्छन् ।

न अरी नारी अर्थात् जसले कसैप्रति वैरभाव, शत्रुता गर्दैन र जसको कोही शत्रु हुँदैन, उसको नाम नारी हो । पहिलेको भनाइ थियो– नारीहरूले कुनै तिकडम गर्दैनन्, जान्दैनन् । र त पुरुष दिवस मनाउने परम्परा अहिलेसम्म कतै छैन । नारीको सम्मान गर्ने पर्व नारी दिवसलाई संसारले चिनेको, पाएको छ । ८ मार्च । सिर्जनाकी स्रोत नारी पृथ्वी हुन्, स्तुत्या छन्, वन्दनीय र पुजनीय पनि । पुर्वीय दर्शनमा नारीलाई धरणी, धर्ती र माताको रूपमा स्वीकार गरिएको छ । माता, भनौँ धरणी अर्थात् धर्ती कसका लागि अप्रिय हुन्छ र !

पूजा, वन्दना, आराधनामा सर्वप्रथम ‘त्वमेव माता’ भनी सम्बोधन गरिन्छ । त्यस्तै, औपचारिक सम्बोधनमा पहिले लेडिज् एन्ड जेन्टलम्यान भनिन्छ । बालबच्चाको पहिलो खानामा आमा, भान्साको कुशल व्यवस्थापनमा नारी, पतिको सेवा सुश्रुषामा पहिलो प्राथमिकता, पुत्र, पुत्री । स्नेहमा पहिलो वात्सल्यता दिएर मात्र आफू अघाउने मातृवत्सला देवी स्वरूपिणी नारीको जति स्तुति गरे पनि कम नै हुन्छ ।

नारीलाई भोग्या, बजारकी खेलौना, सौन्दर्य र कामुकताको व्यापारमा राख्ने आधुनिक शैलीलाई पुर्वीय वाङ्मयका धरोहरहरूले चोटिलो प्रहार गरेका छन् । नर संहारकारी रावण, कंस, दुशासन जस्ता दुष्टहरूलाई क्षणभरमै सिध्याउन सक्ने नारीमा दैवी शक्ति र सत्ता हुन्छ, जसलाई ठाडो नजरले कुनै दुष्टले आँखा लगाउन सक्दैन ।

महिषासुर, चण्ड, मुण्ड, रक्तबीजदेखि तमाम असत्यको विनाश गर्ने स्त्री नारी नै हुन्– द्रौपदी, सीता, अहिल्या, अरुन्धती, यशोदा, देवकी, कुन्ती सबै नारी पात्र हुन्, जसले पौराणिक साहित्यमा अनुपम उदाहरण पेस गरेका छन् । सृष्टिकर्ता ब्रह्माजी, पालनकर्ता श्री विष्णु र संहारकर्ता श्री शिव सबै नारीका उपासक थिए र नारीबाटै शक्ति एवं सामथ्र्य पाएर नै आफ्नो कार्य कुशलतापूर्वक सम्पन्न गरेका थिए । किल्लाको रक्षक नारीलाई सिमानाको रक्षक दुर्ग अर्थात् ‘दुर्गा’को रूपमा चिनिन्छ ।

भय, त्रास, सन्त्रास, दुर्भिक्ष रोक्ने नारी पतिव्रता धर्म पालन गर्ने नारीमा वायुको गति रोक्ने सामथ्र्य हुन्छ भनिएको छ । वासना पूर्तिको रूपमा ग्रहण गर्न लागेको रावणको विध्वंश गर्ने नारी सीता कंसको काल बनेर विन्ध्यवासिनीको रूपमा आएकी हुन् । छिट्फुट नारीमा ‘पुतना’को अंश, ‘होलिका’को अंश नदेखिने होइन तर समग्रमा भन्नुपर्दा स्त्री घरकी शोभा हुन्, कुटुम्बकी प्रिया हुन्, गृहस्थ धर्मकी आधारशिला हुन् र आवश्यक परेका बखत ‘रणचण्डिका’ पनि हुन्छिन् । ब्राह्मी, बाराही, बगलामुखी, त्रिपुरादेवी, इन्द्राक्षी, वैष्णवी, कौमारी, माहेश्वरी आदि नामले चिनिने नारी भोगवती र रूपमती मात्र होइन, मायावती पनि हुन् ।

जुन घरमा नारीको सम्मान हुँदैन, जुन समूहमा नारीको आदर हुँदैन, जुन मन्दिरमा देवीको प्रसाद हुँदैन– कुनै दृष्टिले पनि त्यसले सार्थकता पाउँदैन । कुल धर्मकी रक्षिका कुलदेवी नारी कन्या हुन् । पूजा गरिइन्छिन्, बधु हुन्, कुलबधु हुन्छिन्, आमा हुन्छिन् र सम्मानित सासूसमेत ।
पुर्वीय दर्शन, हिन्दु परम्पराले देखाएको नारी सम्मान सायदै अन्य संस्कृति, धर्म दर्शनले देखाएका होलान् । दिवस नै आउनुपर्दैन नारीको इज्जत दिन । घरकी लक्ष्मी, धनकी प्रतीक, बचत तथा बानी बेहोराका भण्डार स्रोत रहेकी एक नारीले सयौँ सन्तान, शिष्यलाई अनुशासित र मर्यादित रूपमा राख्न सिकाउँछिन् । १० जना पुरुष शिक्षित हुन १ जना नारी शिक्षित हुनुजतिकै प्रतिफल समाजले प्राप्त गर्न सक्छ ।

आद्यगुरु शङ्कराचार्य दैवी नारी त्रिपुरादेवीका उपासक थिए । धर्मराज युधिष्ठिर दैवी नारी दुर्गाका उपासक थिए । सर्वेश्वर श्रीकृष्ण हराएका बखत उनको प्राप्तिका लागि बाबु वसुदेवले देवीकै उपासना गरेका थिए । स्वामी रामकृष्ण परमहंस देवी कालीका उपासक थिए । स्वामी विवेकानन्द देवी नारीका उपासक थिए । जगत् सञ्चालक नारयणकी प्रिया देवी नारीको नाम नारायणी हो । पृथ्वीमा रहेका सम्पूर्ण नदी तीर्थ क्षेत्रलाई देवी संरक्षिकाको रूपमा हेर्ने गरिन्छ । शिवकी शक्ति उमा ब्रह्माकी शक्ति सरस्वती नारी नै हुन् । दुर्गा, सुभद्रा शाम्भवीदेखि रोहिणी भद्रा, जया, विजया सवै नारी नाम हुन् ।

हाम्रो अभियान

हामीले चाहेको जीवन्त जीवन सन्चालनदेखि सम्पूर्ण जगत् सञ्चालनमा नारीको हक, हित, संरक्षण गर्न सके हामीले हाम्रै सम्मान गरेको ठहर्छ । केही आधुनिक नारीको वकालत गर्नेहरूबाट भने नारीको सम्मान र संरक्षण नभएको पाइएको छ । नारीमा भएको आधार शक्तिको पहिचान हुन बाँकी नै छ ।

संसार हाँक्ने नारी देशका राष्ट्रपतिदेखि कार्यकारी प्रमुख प्रधानमन्त्रीसम्म पनि बनेका उदाहरण छन् । नारीलाई अवसरको आवश्यकता छ, उनीहरू आँफै योग्य छन्, योग्यता दर्शाउन सक्छन् । हिजोआज सूचना, सञ्चार, आर्थिक क्षेत्र, औद्यागिक कलकारखाना, सेना, प्रहरी, क्षेत्रमा पनि नारी सहभागिताबाट उनीहरूको सामथ्र्य कम छैन भन्ने थप पुष्टि भएको छ ।

नारी अस्मिताको रक्षा नारीबाट र पुरुष जातिले उनीहरूको सम्मान गर्न सके समाज सुधारका सम्भावना बढ्छन् । साँच्चै नारी एउटै रथका २ पाङ्ग्रा नै हुन् । नारी दिवसमा मात्र होइन, सधैँ उनीहरूको सम्मान गर्नुपर्छ । तर, नारीहरूकै कारण विगत केही समयदेखि पुरुषहरूले कष्ट पाएका पनि छन् ।

२००७ सालको परिवर्तनपछि १७ भदौ २०१० मा सम्पन्न काठमाडौं म्युनिसिपालिटीबाट नेपाली नारीहरूले जनप्रतिनिधि हुने अवसर पाए भने २०१५ सालको पहिलो संसदीय चुनावबाट १ जना महिलाको प्रतिनिधित्व भयो । विगत २०७४ सालको स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व ४० दशमलव ७५ प्रतिशत रह्यो । ३० वैशाख २०७९ मा सम्पन्न ७५३ वटा स्थानीय तहमा कुल निर्वाचित पद ३५ हजार २५१ थियो । यसमा कुल उम्मेदवारको सङ्ख्या १ लाख ४५ हजार १३ मध्ये पुरुष उम्मेदवार ८९ हजार ३१४ भनौँ ६१ दशमलव ५९ प्रतिशत र महिला उम्मेदवार ५५ हजार ६९९ भनौँ ३८ दशमलव ४१ प्रतिशत देखियो ।

यसमा कुल निर्वाचित पुरुष २० हजार ६३१ भनौँ ५९ प्रतिशत र महिला निर्वाचित सङ्ख्या १४ हजार ४६६ भनौँ ४१ प्रतिशत छ । २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल २ हजार ४११ उम्मेदवारमा पुरुष सङ्ख्या २ हजार १८६ भनौँ ९० दशमलव ६७ प्रतिशत र महिला उम्मेदवार २२५ जना भनौँ ९ दशमलव ३३ प्रतिशत रह्यो । समानुपातिकतर्फ महिला १ हजार १८७ र पुरुषतर्पm १ हजार १२ गरी २ हजार १९९ जनाको अन्तिम बन्द सूची कायम रह्यो भने प्रदेशसभातर्पm पहिलो हुने निर्वाचन प्रणालीमा कुल ३ हजार २२४ जना उम्मेवार हुँदा पुरुष उम्मेदवार २ हजार ९४३ भनौँ ९१ दशमलव २८ प्रतिशत र महिला उम्मेदवार २ हजार १८६ भनौँ ८ दशमलव ७२ प्रतिशत देखियो ।

सोही सभाको समानुपातिकतर्फ महिला १ हजार ५११ र पुरुषतर्पm २ हजार १९७ गरी कूल ३ हजार ७०८ जनाको उम्मेदवारी अन्तिम सूची कायम रहेको देखिन्छ । समग्रमा प्रतिनिधि सभामा पुरुष १८४ जना अर्थात् ६६ः९० प्रतिशत र महिला २०० जना भनौँ ३३ः३६ प्रतिशत विजयी भएको पाइन्छ ।

संसारभरिमा महिला प्रतिनिधित्व हामीकहाँ अग्रणी स्थानमा छ तर पछिल्लो आमचुनावमा दलहरूले चुनावमा न्यूनतम कोटा पनि दिन सकेनन्, कति समानुपातिक तिरबाट तान्नुपरेको देखियो । बोक्सी भनी सताइने, कम दाइजो भनी सताइने, छाउपडीको सकस, लगभग १ दिनमा ६ जनासम्म बलात्कृत हुने अवस्था, महिलाकै कारण कानुन निर्माता नै धरापमा परेका राष्ट्रिय खेलाडीहरू मुद्दामा फसेका पनि देखिए, नदेखिने कति छन् घटना ।

आज देशमा धर्म हराएको छ । विदेशी धर्मको अभियान छ, देशमा, बालिकाहरू बलात्कारमा परेका छन् । निर्मलाको घटना नसेलाउँदै बझाङकी सम्झना, बैतडीकी भागरथीको घटनाले देशमा सनसनी छाएको हो । प्रहरी सूत्रका अनुसार दिनमा ६–७ जना छोरी, बहिनीहरू बलात्कारको सिकार भएका छन् । समस्या थपिएपछि मात्र घटना बाहिर आउने हुन्, नभए घरभित्रै घटनाहरू सेलाउँछन् । नारी दिवसको औपचारिकता निभाउनुभन्दा बढी, व्यवहारमै नारीको अस्मिता सुरक्षित राख्न सक्ने समाज निर्माणको प्रतीक्षा गरौँ हामी ।

प्रतिक्रिया दिनुहोस्