राष्ट्रिय आम्दानीको महत्त्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत



काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ऊर्जा क्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्त्वपूर्ण स्रोत भएको  बताएका छन् । आज काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्त्वपूर्ण रहेको  बताएका हुन् ।

उनले भने , ‘सन् ९० को दशकभन्दा अगाडि एक/दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ । यसबाट हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ । ‘

ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको उल्लेख गर्दै उहाँले अहिले नेपाल यो क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु खुसीको कुरा भएको बताए । ऊर्जा क्षेत्रमा लगानीकर्तालाई आकर्षितसमेत गरेको  उनको भनाई रहेको छ ।

उनले भने , ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु । लगानीकर्तालाई पर्ने समस्या समाधान गर्न सरकार तयार छ । लगानीकर्तालाई विभिन्न सहुलियत र सुविधा दिन तयार छौँ । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीमा पनि राम्रो नतिजा आएको छ । नेपालको गतिलो आम्दानीको स्रोत नै ऊर्जा हो ।’

उनले भने ,’सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युत्का लागि बङ्गलादेश अर्को ठुलो बजार हो । बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ । विश्व बैङ्कजस्ता ठुला लगानीकर्ताहरू समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । उनीहरूले मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।’

विद्युत्को आन्तरिक खपत बढाउन आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले विद्युतीय सवारी साधनको प्रयोग बढाएर यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । घरायसी प्रयोजनका लागि  पनि बिजुलीको खपत बढाउन आवश्यक भएको उल्लेख  गरे ।

प्रतिक्रिया दिनुहोस्